राजेन्द्रलाई इ–रिक्सा प्रदान गरिँदै । (तस्बीर : उज्यालो अभियान)
घुर्कौली – सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कौलीमा एक जना अपाङ्ग युवकको परिवारलाई जिविकोपार्जनमा सहयोग गर्ने उद्देश्यले वडा कार्यालयले इ–रिक्सा प्रदान गरेको छ ।
केही समयअघि करेन्ट लागेर एउटा खुट्टा गुमाएका घुर्कौलीस्थित किशोरी टोली बस्ने राजेन्द्र महतोलाई शुक्रबार वडा कार्यालयले एउटा इ–रिक्सा प्रदान गरेको हो । वडा कार्यालयमा हरिवनका मेयर रमेश बुढाथोकी (कमल), उपमेयर हरिमाया घलान, वडाध्यक्ष नागेन्द्रकुमार साहलगायत भएर राजेन्द्रलाई इ–रिक्साको चाबी हस्तान्तरण गरेका हुन् ।
राजेन्द्रका बुवा सन्तलाल महतोको पनि एउटा हात छैन् । बुवा–छोरा नै अपाङ्ग रहेको अतिविपन्न महतो परिवारलाई इ–रिक्साबाट जीविकोपार्जन गर्न टेवा पुगोस् भन्ने उद्देश्यले वडाको बजेटबाट ३ लाख ५ हजार रुपैयाँको इ–रिक्सा प्रदान गरिएको वडाध्यक्ष नागेन्द्रकुमार साहले बताए ।
आम जनमानसमा विकास भन्ने बित्तिकै सडक, पिच, ढलान र ग्राभेल हो भन्ने बुझिए पनि आफूले लैंगिक उत्तरदायी बजेट अन्तर्गत गरिव तथा अपाङ्ग परिवारलाई इ–रिक्सा प्रदान गरेको वडाध्यक्ष साहको भनाई छ । वडा कार्यालयले इ–रिक्सा प्रदान गरेको महतोको परिवारमा ८ जना छन् ।