logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

चितुवाले बाख्रा मार्न थालेपछि किसान चिन्तित


  • उज्यालो अभियान

फाइल तस्बिर ।

घारिबथान – सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, घारिबथानको चुरेभेगमा केही दिनदेखि चितुवाले खोरमै आएर बाख्रा मार्न थालेपछि स्थानीय किसान आतङ्कित बनेका छन् ।

घारिबथानस्थित चुरेजङ्गलका बस्तिहरु गुइडुङ, अड्डी, छ्याङछ्याङ्गेलगायत क्षेत्रमा खोरमा पसेर चितुवाले बाख्रा मार्न थालेपछि स्थानीय त्रसित भएका हुन् । गुइडुङका स्थानीय लालबहादुर थिङका अनुसार एक्कासी देखा परेको एउटा चितुवाले एक साताभित्रमा १० वटा बाख्रा मारेर खाइसकेको छ । चितुवाले आफूसहित लालबहादुर घलान, पूर्णबहादुर थिङ, वुद्धिमान स्याङतान, विष्णु योञ्जन, पूर्णबहादुर थिङ र दयामाया थिङको बाख्रा मारिसकेको लालबहादुरले जानकारी दिए ।

चितुवा देखा परेको घारिबथानका यि चुरेबस्ती उत्तरतर्फ सिन्धुलीसँग र पूर्वतर्फ महोत्तरीसँग सीमा जोडिएको क्षेत्र हो । बाख्रापाठा पालेर जीविकोपार्जन गर्ने चुरेको विकट बस्तीमा प्रत्येक रात चितुवा आएर बाख्रा मार्न थालेपछि मानिसलाई समेत आक्रमण गर्ने हो की ? भन्ने त्रास रहेको गुइडुङका अर्का स्थानीय वीरबहादुर थिङले उज्यालो अभियानसँग बताए ।

रातिको समयमा खोरखोर चहार्दै हिँड्ने चितुवालाई स्थानीयले हो–हल्ला गरेर भगाउने गरेका छन् । ईश्वरपुर नगरपालिका–१२, घारिबथानका वडाध्यक्ष देविबहादुर खत्रीले चितुवाले बाख्रा मार्न थालेको भनी स्थानीयले आफूलाई पनि फोनबाट जानकारी गराएका बताए । उनले चितुवा देखिएको क्षेत्रमा पुग्न चुरेको फेदीबाट डेढदेखि दुई घण्टासम्म उकालो डाँडा चढेर जानुपर्ने जनाए ।

यही चितुवाले केही समयअघि गुइडुङदेखि पश्चिमतर्फ पर्ने लालबन्दी नगरपालिका–१५ शीरकालिञ्जोर क्षेत्रमा पनि आतङ्क मच्चाएको थियो ।

चुरेभेगमै पर्ने लालबन्दी नगरपालिका–१४, नारायण खोलामा पनि बर्सेनिजसो चितुवा आएर बाख्रा मार्ने गरेको स्थानीयले बताएका छन् ।