लालबन्दी ८ स्थित हालको लालबन्दी नगरपालिकाको कार्यालय ।
लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिकामा नगर प्रहरी राखिने भएको छ ।
मंगलबार (आज) बसेको नगर कार्यपालिका बैठकले नगर प्रहरी भर्नाका लागि नगरप्रहरी व्यवस्थापन कार्यविधि पारित गरेको प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईटेलले जानकारी दिए । छिट्टै सूचना निकालेर नगर प्रहरी भर्नाको प्रक्रिया अघि बढाइने लुईटेलले उज्यालो अभियानसँग बताएका छन् ।
उनका अनुसार ३३ प्रतिसत महिला समेत रहने गरी ६ जना नगर प्रहरी रहने छन् । त्यसमा एक जना सहायक निरीक्षक (असई) र अन्य ५ जना जवान रहने छन् ।
नगरले गर्ने विभिन्न प्रकारका निर्णय कार्यान्वयनका लागि नगरको आफ्नै सुरक्षा बलको आवश्यकता ठानेर नगर प्रहरी राख्ने निर्णय गरिएको लालबन्दी नगरपालिकाका प्रवक्ता एवं वडा नं. १६ का वडाध्यक्ष गणेशबहादुर थापाले जानकारी दिए ।
सर्लाहीमा यसअघि हरिवन नगरपालिका, बरहथवा नगरपालिका, कौडेना गाउँपालिका लगायतका पालिकाले नगर तथा गाउँ प्रहरी राखिसकेका छन् ।