हरिपुर – सर्लाहीको हरिपुरमा बिहीबारबाट ५ औँ नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
हरिपुर बजारस्थित हात्तीसार खेल मैदानमा सुरु भएको प्रतियोगिताको संविधान सभाका सदस्य द्वय रामचन्द्र चौधरी र रन्जना सरकारसँगै हरिपुरका मेयर गोपाल पंजियारले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । “राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद, सबैको लागि खेलकुद” भन्ने मूल नाराका साथ सुरु भएको प्रतियोगितामा हरिपुर नगरभित्रका सामुदायिक र संस्थागत गरी १५ वटा विद्यालयका छात्रछात्राले सहभागिता जनाएका छन् ।
शनिबारसम्म संचालन हुने यस प्रतियोगितामा विद्यार्थीबीच विभिन्न विधाका खेलमा प्रतिस्पर्धा हुने आयोजक हरिपुर नगरपालिकाले जनायो । शनिबार एक समारोहका बीच प्रतियोगिताको समापन गरिने हरिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेलले जानकारी दिए ।