बागमती – सर्लाहीको बागमतीमा आज (बुधबार) बाट ७ औँ राजर्षि जनक कप फुटबल प्रतियोगिता सुरु हुँदैछ ।
मधेश प्रदेशकै सर्वाधिक राशीको यस प्रतियोगिताको उद्घाटन खेलमा आज सशस्त्र प्रहरीको एपिएफ क्लब र जावलाखेल फुटबल क्लबले खेल्दै छन् । उद्घाटन खेल दिउँसो ३ बजेपछि सुरु हुने छ ।
खेल बागमती–११, स्थित स्वर्गिय सन्तोष श्रेष्ठ स्मृति खेल मैदान कर्मैयामा हुनेछ । प्रतियोगिताको उद्घाटन दिउँसो एक समारोहका बीच उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले गर्नुहुने छ ।
बागमती नगरपालिकाको सहयोगमा आयोजित यस प्रतियोगितामा आयोजक बागमती युवा क्लबसहित १२ वटा क्लबको सहभागिता रहेको छ । प्रतियोगितामा यूनाइटेड किङ्गडम फूटवल क्लव दार्जेलिङ, संकटा क्लव, नेपाल पुलिस क्लब, एपीएफ क्लब, जावलाखेल यूथ क्लब, चर्च व्वाइज यूनाइटेड, सुदूरपश्चिम–११, मच्छिन्द्र फूटवल क्लब, धरान यूवा क्लव, जन–जागृति युवा क्लब सीमरा र प्रतियोगिताको साबिक बिजेता पिप्ले यूथ क्लब हेटौँडाले सहभागिता जनाउने आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिए ।
फागुन ७ गतेसम्म संचालन हुने यस प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै, हरेक विधाका उत्कृष्ट खेलाडीलाई २५ हजार नगद र आयोजक बागमती युवा क्लबका एक जना उत्कृष्ट खेलाडीलाई एक थान मोटसाइकल प्रदान गरिने आयोजक क्लबका अध्यक्ष मैनालीले बताए ।
नगरभित्र हुन लागेको यस फुटबल प्रतियोगिताको उद्घाटनका दिन आज बागमती नगरपालिकाले स्थानीय बिदा दिएको छ ।