logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

नवौँ नगरसभाबाट १९ वटा कार्यविधि पारित


  • उज्यालो अभियान

बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिकाको सोमबार सम्पन्न नवौँ नगरसभा बाट १९ वटा कार्यविधि सर्वसम्मतरुपमा पारित गरिएको छ ।

नगरपालिकाको आफ्नै सभाहलमा सम्पन्न नगरसभाको हिउँदे अधिवेशनले १९ वटा कार्यविधि पास गरेको हो । नगरसभाको पहिलो बैठकबाटै सर्वसम्मत पारित गरिएको यि कार्यविधिमध्ये केही राजपत्रमा प्रकाशित गरेर कार्यान्वयनमा ल्याइने र केही राजपत्रमा प्रकाशित नगरी सोझै कार्यान्वयनमा ल्याउन सकिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हीराकाजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार नगरसभाले नगर प्रहरी गठन तथा संचालन कार्यविधि २०७९, शिक्षा ऐन २०७५ को पहिलो संशोधित ऐनको मस्यौदा, विद्यालयमा शिक्षक र कर्मचारी नियुक्तीको लागि मस्यौदा कार्यविधि, नगर स्वास्थ्य ऐन २०७९, नगर अस्पताल÷स्वास्थ्य संस्था स्थापना तथा संचालन कार्यविधि २०७९ लगायतका कार्यविधि नगरसभाको पहिलो बैठकबाटै पारित गरिएको हो । यो आर्थिक वर्षको गएको साउनदेखि अहिलेसम्म कार्यविधि तयार पारेर नगरसभाबाट स्वीकृत गरिएको नगरपालिकाका योजना शाखा प्रमुख पुष्करमणि घिमिरेले बताए ।

सभाले केही कार्यक्रमहरुमा सामान्य संशोधनसहित बजेट कटौति गरी अपुग भएको अर्को योजनामा थप गर्ने छ । नगरप्रमुख मनोजकुमार आचार्यको अध्यक्षतामा आयोजित नगरसभामा उपप्रमुख रन्जितादेवी चौधरी, विभिन्न वडाका वडाध्यक्ष, नगरसभा सदस्य, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखाका प्रमुख, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

नगरसभालाई सम्वोधन गर्दै नगरप्रमुख आचार्यले शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा सुधार गर्दै नगरपालिकाका काम कारवाहीलाई पारदर्शी बनाउँदै जाने बताए । उनले नगरको विकास गर्दै नागरिकका सास्ती तथा समस्यालाई हल गर्न सबैसँग समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।