सर्लाहीको बागमतीस्थित एक क्रस उद्योग ।
मलंगवा – सर्लाहीमा दर्ता भएर संचालनमा रहेका क्रसर उद्योगलाई नवीकरण नभए पनि आगामी असार मसान्तसम्म संचालन गर्न अनुमती दिइएको छ ।
आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकबाट मन्त्री परिषद्को माघ ११ गतेको निर्णय अनुसार नै नवीकरण नभए पनि असार मसान्तसम्म संचालन हुन दिने निर्णय गरिएको हो । दर्ता नै नभएका उद्योग भने संचालन हुन दिइने छैन् ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले क्रसर उद्योगको अनुगमन गर्न बनाइएको समितिले दिएको प्रतिवेदन अनुसार दर्ता भएका र नभएका उद्योग पहिचान गरी दर्ता भएकालाई चलाउने दिने र दर्ता नै नभएकालाई बन्द गराउने निर्णय भएको बताए । जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंहको अध्यक्षतामा बसेको सो बैठकमा प्रमुख जिल्ला अधिकारी यादव, प्रहरी उपरीक्षक नरेशराज सुवेदी, सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी, राष्ट्रिय अनुसन्धानका उप–अनुसन्धान निर्देशक सन्तोष ढुंगेल, जिल्ला वन प्रमुख मन्जुर अहमदसहित मालपोत, घरेलु, कर लगायत कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
यसैबीच, पूर्व–पश्चिम हुलाकी सडकको निर्माणलाई थप तीव्रता दिने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालयमै प्रमुख जिल्ला अधिकारी यादवको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख सिंहको प्रमुख आतिथ्यतामा सुरक्षा अधिकारी, सडक कार्यालयका प्रतिनिधी, निर्माण व्यवसायीलगायतबीच बैठक गरेर कुनै अवरोध तथा समस्या आए सबैमिली समाधान गर्दै सडक निर्माणको कामलाई तीव्रता दिने निर्णय भएको हो ।
समय सीमाभित्र निर्माणको काम पूरा नभए सम्वन्धित निर्माण व्यवसायीलाई कारवाही गर्ने समेत निर्णय भएको छ ।