धनकौल – सर्लाहीको धनकौल गाउँपालिका–२, मा स्वास्थ्य चौकी र बर्थिङ सेन्टरका लागि स्थानीय बैजनाथप्रसाद सिंहले करिव ४० लाखको जग्गा दिएका छन् ।
सिंहले आफ्नो नाममा रहेको प्रतिकठ्ठा १० लाख रुपैयाँ पर्ने जग्गा स्वास्थ्य चौकीका लागि निःशुल्क उपलब्ध गराएका हुन् । उनले उपलब्ध गराएको जग्गामा भर्खरै निर्माण गरिएको बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकी भवनको शुक्रबार उद्घाटन गरिएको छ ।
भवनको सर्लाही क्षेत्र नं. ४ (क) का प्रदेशसभा सदस्य तथा जग्गादाता बैजनाथ प्रसाद सिंहकै छोरा वीरेन्द्र प्रसाद सिंहले उद्घाटन गरेका हुन् । स्वास्थ्य चौकी भवन उद्घाटन समारोहमा धनकौल गाउँपालिकाले जग्गादाता बैजनाथलाई शुक्रबार कदर–पत्रसहित सम्मान गरेको छ ।
प्रदेश सरकार र गाउँपालिकाको बजेट खर्चिएर स्वास्थ्य चौकी भवन निर्माण गरिएको धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साहले जानकारी दिए ।