logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

वडाध्यक्ष सूचक बसेर मुसहर बालबालिकालाई जन्मदर्ता दिलाए


  • उज्यालो अभियान

मजुर्वा – हरिपुर नगरपालिका–५, मा बुधबार वडाध्यक्ष सुरेन्द्रप्रसाद चौधरी आफै सूचक बसेर पाँच जना मुसहर बालबालिकालाई जन्मदर्ता बनाइदिएका छन् ।

आफ्ना बाबु, आमाको नागरिकता नभएकाले वडाध्यक्ष चौधरी सूचक बसेर मुसहर बालबालिकालाई जन्मदर्ता उपलब्ध गराएका हुन् । यहाँ माझी, मुसहर दलित समुदायमा धेरै जना नागरिकताविहीन रहेका छन् ।

बाबु, आमाको नागरिकता नभएकै कारण उनीहरुले जन्माएको छोरा, छोरी जन्मदर्ताविहीन हुनुपरेको छ । आफ्नो वडामा कोही पनि बालबालिका जन्मदर्ताविहीन हुन् नपरोस् भनी आफै सूचक बसेर जन्मदर्ता दिलाएको वडाध्यक्ष चौधरीले बताए ।

उनले हरिपुर नगरपालिका ५ मजुर्वाका रामविश्वास माझी र गोलहीया कुमारीको कोखबाट २०७४ सालदेखि जन्मिएका चार सन्तानको एकसाथ जन्मदर्ता जारी गरेका छन् । २०७४ जेठ ३ गते जन्मिएको छोरा निरज माझी, उनीहरुकै कोखबाट २०७६ वैशाख ५ गते जन्मिएकी छोरी अमरिका माझी, २०७७ वैशाख ५ गते जन्मिएको छोरा निरञ्जनकुमार माझी र २०७८ असोज ५ गते जन्मिएकी सचिताकुमारी माझी र मजुर्वाकै उपेन्द्र माझी र सिकिलिया माझीकी छोरी रानीकुमारी माझीको जन्मदर्ता बनाइएको छ ।

मुसहर समुदायको उत्थानका लागि काम गरिरहेको साउथ एशिया पार्टनरशीप नेपाल (साप–नेपाल) ले यसरी जिल्लाको चन्द्रनगर, हरिपुर, बरहथवा र बसबरियामा नागरिकताविहीन बालबालिकालाई पालिका र वडा कार्यालयसँग समन्वय गरी जन्मदर्ता दिलाउने काम गर्दै आइरहेको छ ।

संस्थाले मुसहर महिलाको विकासका लागि पनि करिव दुई वर्षदेखि विभिन्न काम गर्दै आइरहेको संस्थाका सिनियर फिल्ड सुपरभाइजर मनोजकुमार पासवानले जानकारी दिए ।