बयलवास, माघ १८ – चितवनमा रहेको भरतपुर आँखा अस्पतालले सर्लाहीको ईश्वरपुर नगरपालिकामा आँखा उपचार केन्द्र स्थापना गर्ने भएको छ ।
बुधबार ईश्वरपुरका मेयर मनोजकुमार आचार्यको नेतृत्वमा भरतपुर गएको नगरपालिकाको टोलीले नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पतालसँग ईश्वरपुरस्थित बयलवासमा आँखा उपचार केन्द्र स्थापना गर्ने सम्झौता गरेको हो । तत्काल दुई÷तीन साताभित्रै आँखा उपचार केन्द्र स्थापना गरी संचालनका लागि भरतपुर आँखा अस्पतालले चिकित्सकसहित प्राविधिक सहयोग गर्ने र अस्पताललाई नगरपालिकाले वार्षिक ५ वर्षसम्म ६ लाख रुपैयाँका दरले रकम उपलब्ध गराई नगरवासीको सेवा गर्ने लगायतका सम्झौता भएका छन् ।
सम्झौता पत्रमा नगरभित्र निःशुल्क आँखा शिविरसहित मोतीविन्दुको अप्रेसन क्याम्प संचालन गर्ने लगायतका बुँदा उल्लेख छ । यो सम्झौतापछि ईश्वरपुर नगरवासीलाई आँखा रोगको समस्या लिएर भरतपुरसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य हुने नगरप्रमुख आचार्यले बताए ।
सम्झौता पत्रमा ईश्वरपुर नगरपालिकाका तर्फबाट मेयर आचार्य र प्रमुख प्रशासकीय अधिकृत हीराकाजी श्रेष्ठ तथा नेपाल नेत्रज्योति संघ चितवनको तर्फबाट सभापति कृष्णराज धरेल र चिफ मेडिकल डाइरेक्टर सह–प्राध्यापक डाक्टर संगिता शर्मा भण्डारीले हस्ताक्षर गरेका छन् ।