श्रीनगर माविमा केही समयअघि मेयरसहितको उपस्थितिमा भएको एक कार्यक्रम । फाइल तस्बिर
श्रीनगर, माघ १७ – सर्लाहीको ईश्वरपुर नगरपालिका १४ श्रीनगरमा रहेको जनता माध्यमिक विद्यालयमा १० वर्षपछि विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।
मंगलबार नगरप्रमुख मनोजकुमार आचार्यको प्रमुख आतिथ्यतामा भएको अभिभावक भेलाले ४ सदस्यीय व्यवस्थापन समिति गठन गरेको हो । समितिमा गजेन्द्र यादव, राजदेव महतो, ललिता साम्पाङ र सन्तोरिया माझी मुसहर रहेका विद्यालयका प्रधानाध्यापक विनोद साहले जानकारी दिए ।
व्यवस्थापन समितिमा प्रअ सदस्य सचिव र एक जना शिक्षक प्रतिनिधि सदस्य रहने व्यवस्था छ । त्यस्तै, शिक्षाप्रेमीबाट एक जना र चन्दादाताबाट १ जना गरी २ जना सदस्य मनोनित हुने छन् ।
राजनीतिक विवादलगायतका कारण सो विद्यालय १० वर्षदेखि व्यवस्थापन समितिविहीन रहेको थियो । नगरप्रमुख आचार्यले आफै उपस्थिति भएर सर्वसम्मतबाट व्यवस्थापन समिति गठन गरेको बताए ।
केही साताअघि ईश्वरपुर ६ स्थित नारायण जनता माध्यमिक विद्यालयमा पनि लामो समयपश्चात व्यवस्थापन समिति गठन गरिएको थियो ।