लालबन्दी बजारबाट क्रेटमा राखेर अन्यत्र पठाउन लागिएको गोलभेँडा ।
लालबन्दी – गोलभेँडाको भाउ निकै सस्तो भएपछि सर्लाहीका किसान मारमा परेका छन् ।
बजारमा भारतीय गोलभेँडा व्यापक मात्रामा भित्रिँदा यहाँका किसानले फलाएको गोलभेँडाले बजार पाउन छाडेको छ । किसानले गोलभेँडा प्रतिक्रेट १५० देखि २०० सय रुपियाँमा बिक्री गरिरहेका छन् ।
एक क्रेटमा २५ केजी गोलभेँडा हुन्छ । यसरी गोलभेँडा प्रतिकेजी छ देखि आठ रुपियाँमा बेच्नुपर्दा लागत नै उठाउन मुस्किल रहेको हरिवन नगरपालिका–२, शिकारी टोलका किसान वसन्तकुमार डुमजनले गुनासो गरे । “सुरुमा एक क्रेट गोलभेँडा एक हजार दुई सय रुपियाँसम्ममा पनि बेच्यौँ तर अहिले आएर १५० रुपियाँमा बेच्नु परेको छ,” डुमजनले भने,“यो भाउमा गोलभेँडा बेचेर न जनको खर्च उठ्छ, न जोताइको, हामी किसान त अन्यायमा परेका छौँ ।”
लालबन्दी बजारबाट तरकारी निकासी हुने देशका मुख्य बजारमा भारतीय गोलभेँडा छ्यापछ्याप्ती भित्रिँदा यहाँका किसानलाई गोलभेँडा बेच्नै समस्या हुन थालेको छ । लालबन्दी नगरपालिका–१०, तुलसी टोलका किसान प्रेम श्रेष्ठले गोलभेँडा बेच्नै समस्या भइरहेको बताए ।
“क्रेटको डेढ सयले गोलभेँडा बेच्दा हाम्रो लागत र हैरानीधरी उठ्दैन, त्यही पनि व्यापारीले किनिरहेका छैनन्,” श्रेष्ठले भने । काठमाडौँमा नै गोलभेँडाको भाउ नरहेको भन्दै व्यापारीले गोलभेँडामा भाउ नै नलगाउने गरेका श्रेष्ठले गुनासो गरेका छन् ।
लालबन्दी नगरपालिका–१, नवलपुरका किसान चरित्र कुशवाहले १० कठ्ठामा लगाएको गोलभेँडा धमाधम टिपेर बेच्ने बेला भए पनि बजारमा ल्याउँदा व्यापारीले खरिद गर्न नमानिरहेको बताए । “भारतीय गोलभेँडा आइरहेको छ भन्दै व्यापारीले हाम्रो गोलभेँडा लिन मानिरहेका छैनन्,” कुशवाहले भने ।
बारिभरी पाकेर राताम्मे भएको गोलभेँडा तत्काल बिक्री नगरे नष्ट भएर जाने भएकाले किसान व्यापारीले भनेकै मूल्यमा गोलभेँडा बिक्री गर्नुपर्ने बाध्यतामा छन् । पछिल्लो समय बिचौलिया सक्रिय हुँदा किसान थप मारमा परेका छन् ।
लालबन्दी कृषि थोक तरकारी बजार व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका व्यापारी तोरनबहादुर मगरले भारतीय गोलभेँडा धरै भित्रिरहेको र गोलभेँडा उत्पादन हुने मध्यसिजन भएकाले यहाँ फलेको गोलभेँडाले भाउ पाउन नसकेको बताए । “बजारमा अहिले भारतीय गोलभेँडा धेरै देखिन्छ, यहाँ पनि गोलभेँडा धेरे नै फलेको छ, त्यसैले किसानले भाउ पाउन नसकेका हुन्” मगरले भने ।
सर्लाहीमा उत्तरी भेगको लालबन्दी, रानिगन्ज, पत्थरकोट, चन्द्रपुर, हीरापुर, नवलपुर, अत्रौली, सासापुरलगायत क्षेत्रमा गोलभेँडाको व्यवसायिक खेती हुने गरेको छ । लालबन्दी बजारबाट अहिले दैनिक २५ देखि ३० टन गोलभेँडा कालिमाटीलगायत देशका प्रमुख बजारमा निर्यात भइरहेको छ ।
लालबन्दी नगरपालिकाको कृषि शाखाका प्रमुख गोकर्ण पौडेलेले गोलभेँडा किसान वास्तवकै मारमा परेका बताए । “यहाँ व्यापारी र किसानबीच आपसमा भाउ तय गरेर तरकारीको किनबेच हुुन्छ, अहिले क्रेटको डेढ÷दुई सयमा गोलभेँडा बेच्नुपर्दा किसान मारमा नै हुनुहुन्छ,” पौडेलले भने, “कृषि बजार निर्देशनालय, नगरपालिका, व्यापारी र किसान बसेर भाउ तय गर्ने हो भने किसानलाई राहत मिल्न सक्छ ।”
किसानले यति सस्तो मूल्यमा गोलभेँडा बिक्री गर्नुपर्दा स्थानीय सरकारका रुपमा रहेका नगरपालिकाले कुनै चासो नदिएको गुनासो गरेका छन् ।