logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हरिवन ७ मा पुनः मतगणना नगर्न सर्वोच्चको अन्तरिम आदेश


  • उज्यालो अभियान

घुर्कौली – सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ७ मा पुनः मत गणना गर्न उच्च अदालत जनकपुरले दिएको आदेश तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

हरिवन नगरपालिका वडा नम्बर ७ को वडाध्यक्षका लागि सम्पन्न निर्वाचनको यसअघिको मतगणना रद्द गरी पुनः गणना गर्न गएको पुस २२ गते उच्च अदालतले आदेश दिएको थियो । गएको वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा हरिवन ७ को वडाध्यक्षमा एमालेका निरध्वज कार्की विजयी भएका छन् ।

कार्कीले ३ सय ७९ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार टीकाजंग थापाले ३ सय ७८ मत पाएका थिए । नेपाली कांग्रेसले त्यतिबेलै धाँधली गरेर आफ्ना उम्मेदवारलाई हराएको आरोप लगाएको थियो ।

वडाध्यक्ष पदमा १ मतान्तरले पराजित थापाले पुनः मत गणना माग गर्दै उच्च अदालतमा रिट दायर गरेका थिए । थापाले अन्तरिम आदेशको मागसहित रिट दायर गरे पनि अदालतले एकैचोटि पुस २२ गते पुनः मत गणनाको आदेश दिएको थियो ।

उच्च अदालतले पुनः मतगणनाको आदेश दिएपछि कार्की त्यसविरुद्ध सर्वोच्च अदालत गएका थिए । गएको मंगलबार सर्वोच्च अदालतलका न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले उच्च अदालत जनकपुरलाई तत्काल मत गणना नगर्न र निर्णयको लिखित जवाफ सर्वोच्चमा पठाउन आदेश दिएको हो ।