logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

‘तस्करी रोकेर राजस्व संकलनमा ध्यान दिनुस्’


  • उज्यालो अभियान

हरिवन – रक्षामन्त्री हरिप्रसाद उप्रेतीले भारतसँगको खुला सीमा नाकाबाट हुने तस्करी नियन्त्रणमा ध्यान केन्द्रित गर्न सम्वद्ध अधिकारीलाई निर्देशन दिएका छन् ।

शुक्रबार सर्लाहीको हरिवनमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख र कार्यालय प्रमुखलाई निर्देशन दिँदै मन्त्री उप्रेतीले तस्करी रोकेर राजस्व वृद्धि गर्नेतर्फ ध्यान केन्द्रित गर्न भनेका हुन् । अहिले राज्य आर्थिक रुपमा सङ्कटमा परिरहेको अवस्थामा तस्करी तथा राजस्व छली नियन्त्रण गरी कर सङ्कलनको दर वृद्धि गर्नुपर्नेमा रक्षामन्त्री उप्रेतीको जोड छ ।

उनले अवैध रुपमा भइरहेको गिट्टी, बालुवा र ढुङ्गालगायत राष्ट्रिय सम्पत्तिको दोहनलाई समेत नियन्त्रण गरी त्यसलाई प्रक्रियागत रुपमा करको दायरामा ल्याउनुपर्ने बताए । रक्षामन्त्री उप्रेतीले लक्ष्यअनुसार कार्यप्रगति देखिने गरी काम गर्न कार्यालय प्रमुखलाई निर्देशन दिए ।

उनले आवश्यकता र आम नागरिकले अनूभूति पाउने गरी काम गर्न सक्नुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्लास्थित कार्यालय प्रमुखले मन्त्री उप्रेतीलाई यहाँको वस्तुस्थित र आफ्नो कार्यालय अन्तर्गतका समस्याहरु राखेका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले जानकारी दिए ।

वर्तमान सरकारमा रक्षामन्त्री नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला सर्लाही आएका मन्त्री उप्रेतीलाई शुक्रबार नै उद्योग वाणिज्य सङ्घ हरिवन, सर्लाही ट्रक व्यवसायी संघ, नेकपा एमाले क्षेत्र नं. ३ को क्षेत्रीय कमिटी र भूतपूर्व सैनिक संगठन सर्लाहीले स्वागत तथा सम्मान गरेका छन् ।