कर्मैया – सर्लाहीको बागमती नगरपालिका–११, मा बिहीबार कर्मैया आदर्श जनता क्याम्पस कर्मैयाको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।
नगरप्रमुख भरतकुमार थापाले एक समारोहका बीच क्याम्पस भवनको उद्घाटन गरेका हुन् । विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त एक करोड रुपैयाँ लागतमा १२ कोठाको दुई तले भवन निर्माण गरी उद्घाटन गरिएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद पुडासैनीले जानकारी दिए ।
बीचमा केही समय बन्द नै भइसकेको क्याम्पसलाई आफूहरुले पुनः सञ्चालनमा ल्याएको पुडासैनीले बताए । क्याम्पसको स्नातक तहमा अहिले करिव एक सय जना विद्यार्थी अध्ययनरत छन् ।
क्याम्पसको सुविधा सम्पन्न भवन निर्माण भएपछि पठनपाठनमा थप सहजता भएको व्यवस्थापन समितिका अध्यक्ष पुडासैनीले बताए । सरस्वती पूजाको अवसर पारेर आयोजना गरिएको भवन उद्घाटन समारोहमा संविधान सभाका सदस्य नरेन्द्र साह, नगर उपप्रमुख लिलाकुमारी मोक्तान, नगर शिक्षा समितिका संयोजक राजकुमार विश्वकर्मा, क्याम्पस व्यवस्थापन समितिका पूर्व अध्यक्ष रेवती पन्तलगायतको आतिथ्यता रहेको थियो ।
यसैबीच, जिल्लाको गोडैता नगरपालिकास्थित जनता माध्यमिक विद्यालय रामवनको नवनिर्मित चारकोठे भवनको बिहीबार उद्घाटन गरिएको छ । भवनको गोडैता नगरपालिकाका मेयर देवेन्द्र यादवले उद्घाटन गरेका हुन् ।
भवन उद्घाटन समारोहमा उपमेयर अन्जना कुशवाहा, गोडैता नगरपालिका ५ का वडाध्यक्ष प्रकाश गुप्ता, शिक्षा शाखाका प्रमुख प्रमोद कुमरा यादव लगायतको उपस्थिति रहेको थियो ।