भक्तिपुर – सर्लाहीको भक्तिपुरमा मंगलबार अतिविपन्न सय घरधुरीलाई फाइबर सिरक प्रदान गरिएको छ ।
चिसोबाट प्रभावित बनिरहेका ईश्वरपुर नगरपालिका २ भक्तिपुरका अतिविपन्न सय परिवारलाई इलाका प्रहरी कार्यालय भक्तिपुरमा जम्मा पारेर फाइबर सिरक प्रदान गरिएको हो । संघ तथा प्रदेश सरकारबाट जिल्ला विपद् व्यवस्थापन समितिलाई प्राप्त फाइबर सिरक चिसोबाट प्रभावित भइरहेका माझी, मुसहर, डोम, चमारसहित अन्य दलित र अतिविपन्न परिवारलाई वितरण गरिएको जिल्ला प्रशासन कार्यालय मलंगवाले जनाएको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारी, ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्य, उपमेयर रन्जितादेवि चौधरी, प्रहरी उपरीक्षक नरेशराज सुवेदीलगायत अन्य सुरक्षा अधिकारीहरु, वडाध्यक्ष सुरेन्द्रकुमार कार्की भएर विपन्न परिवारलाई सिरक प्रदान गरेको जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर मुकेश यादवले जानकारी दिए ।