सोमबार दिउँसो इप्रका केशरगन्जमा भेला भएका घारिबथानका स्थानीय । (तस्बीर : उज्यालो अभियान)
घारिबथान – भू माफियाको सन्जाल आएर जग्गा हडप्न खोजेपछि सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, कालिन्जोर घारिबथानका स्थानीय एकजुट भएका छन् ।
अस्ती आइतबार दिउँसो चिन्दै नचिनेका मानिसहरु आई आफूहरुको जग्गा नापचाँज गर्न थालेपछि स्थानीयले भू–माफिया गिरोहका ७ जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासमा बुझाएका थिए । उनीहरुलाई कारवाहीको माग गर्दै हिजो दिउँसो कालिन्जोरबाट २ सय बढी स्थानीयहरु बयलवासस्थित प्रहरी कार्यालयमा आइपुगेका थिए ।
आफूहरुले पुस्तौँदेखि भोगचलन गर्दै आइरहेको जग्गा अपरिचित व्यक्तिहरु आएर नापजाँच गर्न थालेपछि त्रसित भएको कालिन्जोरका स्थानीय राजु खड्काले गुनासो गरे । स्थानीयले नियन्त्रणमा लिएर बुझाएका ७ जना व्यक्तिसँगै एउटा स्कारपियो, एउटा मोटरसाइकल, ५ लाख रुपैयाँ नगद, मोवाइललगायतका सामग्री पनि छन् ।
कालिन्जोरका वडाध्यक्ष देविबहादुर खत्रीले ती व्यक्तिहरु आफूहरुसँग ६४ बिघा भन्दा बढी जग्गाको लालपूर्जा रहेको भन्दै जग्गा नापजाँच गर्न गाउँमा आएको बताए । उनले गाउँलेले दशकौँ अघिदेखि भोगचलन गर्दै आइरहेको जग्गा आफूहरुको भन्दै अपरिचित व्यक्ति आएपछि अचम्मित भएको बताए ।
मालपोत र नापीको रेकर्डमा कालिन्जोर क्षेत्रको जग्गामा साबिक खयरमाराखोर भनी उल्लेख छ । यो जग्गा सरकारी रेकर्डमा कुन अवस्थामा छ ? भनी प्रष्ट भइसकेको छैन् ।
मालपोत कार्यालय हरिवनका प्रमुख रमेशप्रसाद गौतमले कालिन्जोरको यो घटनाबारे आफूलाई पनि मौखिक जानकारी आएको र स्थानीयलाई आफूसँग भएको कागजात लिएर कार्यालयमै आउन भनेको उज्यालो अभियानसँग बताए । स्थानीयले बताए अनुसार कालिन्जोर क्षेत्रको सो जग्गा नापीको टोली खटिँदा जग्गाधनी नखुलेकाले बे–निस्सा भनी उल्लेख गरिएको हुनसक्ने मालपोतका प्रमुख गौतमले बताए ।
यता, स्थानीयले पक्राउ गरी बुझाएका ७ जना व्यक्तिविरुद्ध म्याद थप गरी कानूनी कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुले अन्य व्यक्तिको पनि नाम लिएका छन् ।
सर्लाही प्रहरीका प्रमुख (एसपी) नरेशराज सुवेदीले पक्राउ परेकाहरुसँग सोधपुछसँगै आफूहरुले समेत मालपोतमा जग्गाको रेकर्ड कस्तो छ ? भनी बुझ्नेकाम गर्ने बताए । गाउँलेले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएकाहरुमा बाराको जितपुर सीमरा उपमहानगरपालिका– ११, का उमाशङ्कर साह, सिरहाको कर्जन्हा नगरपालिका–१, का राहुलकुमार साह, धनुषाको मिथिला नगरपालिका–९, का जयकुमार ठाकुर, बाराको जितपुर सीमरा उपमहानगरपालिका–१, का ज्ञानबहादुर लामिछाने, महोत्तरीको मनरा सिस्वा नगरपालिका–४, का धीरेन्द्र झा, धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५, का विजयकुमार साह र बाराको जितपुर सीमरा उपमहानगरपालिका–११, का विनय कुमार चौधरी रहेका छन् ।
केही समयअघि जिल्लाको बागमती नगरपालिकास्थित शंकरपुर क्षेत्रमा पनि स्थानीयले वर्षौदेखि भोगचलन गर्दै आइरहेको जग्गा भू–माफियाको गिरोह आएर नापजाँच गर्न थालेपछि स्थानीय आन्दोलित भएका थिए । पछिल्लो समय सर्लाहीमा भू–माफियाहरु निकै सक्रिय छन् । उनीहरुले अर्कैको जग्गा हडप्ने, नक्कली मोही खडा गर्नेजस्ता सोझासिधा नागरिकलाई दुःख दिने काम गर्दै आइरहेका छन् ।