स्थानीयले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका व्यक्तिहरु ।
घारिबथान – सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, कालिन्जोरमा चिन्दै नचिनेका मानिसहरु गाउँमा आएर एक्कासी जग्गा नापजाँच गर्न थालेपछि स्थानीयले उनीहरुलाई पक्राउ गरी प्रहरीमा बुझाएका छन् ।
भूमिसुधार र नापी कार्यालयको रेकर्डमा खयरमाराखोर भनी उल्लेख रहेको कालिन्जोरस्थित दोङखोरिया क्षेत्रमा आइतबार दिउँसोपख जग्गा नाप गर्न आएको गिरोहका सात जनालाई गाउँलेहरुले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् । आफूहरुले तीन पुस्तादेखि भोगचलन गर्दै आइरहेको ऐलानी जग्गा एक्कासी देख्दै नदेखेको मानिस आएर जग्गा नाप्ने, फोटो खिच्ने, भिडियो बनाउने जस्ता गतिविधि गर्न थालेपछि स्थानीयहरु भेला भएर नियन्त्रणमा लिएका हुन् ।
आक्रोशीत स्थानीयले सुरुमा उनीहरुलाई नियन्त्रणमा लिएर वडा कार्यालयमा पुर्याएका थिए । पछि ती सातै जनालाई आवश्यक अनुसन्धानका लागि आइतबार राति नै इलाका प्रहरी कार्यालय केशरगञ्जमा बुझाइएको कालिन्जोरका वडाध्यक्ष देविबहादुर खत्रीले उज्यालो अभियानसँग बताए ।
गाउँलेले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएकाहरुमा बाराको जितपुर सीमरा उपमहानगरपालिका– ११, का उमाशङ्कर साह, सिरहाको कर्जन्हा नगरपालिका–१, का राहुलकुमार साह, धनुषाको मिथिला नगरपालिका–९, का जयकुमार ठाकुर, बाराको जितपुर सीमरा उपमहानगरपालिका–१, का ज्ञानबहादुर लामिछाने, महोत्तरीको मनरा सिस्वा नगरपालिका–४, का धीरेन्द्र झा, धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५, का विजयकुमार साह र बाराको जितपुर सीमरा उपमहानगरपालिका–११, का विनय कुमार चौधरी रहेका छन् ।
प्रदेश ३–०१–०२२ च १८४१ नम्वरको कार चढेर आएका उनीहरुको साथबाट पाँच लाख रुपियाँ नगद समेत बरामद भएको छ । यि व्यक्तिहरु अचानक गाउँमा आएर विभिन्न धाकधम्की, डरत्रास देखाएपछि नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको स्थानीयको भनाई छ ।
“पूरै बस्तीको जग्गा आफूहरुको हो भन्दै नापजाँच गर्न थालेपछि उनीहरुलाई सबै गाउँले भएर नियन्त्रणमा लिएका हुन्,” वडाध्यक्ष खत्रीले भने, “हामीले वडा कार्यालयमा लगेर उनीहरुसँग सोधपुछ गर्दा उनीहरुका गतिविधि र बोली शङ्कास्पद देखियो, त्यसपछि प्रहरी बोलाएर जिम्मा लगायौँ ।”
प्रहरीले यस घटनाका सम्वन्धमा अनुसन्धान जारी रहेको जनाएको छ । सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले नियन्त्रणमा रहेका व्यक्तिहरुसँग सोधपुछ भइरहेको बताए ।
“केही मानिसहरु आएर आफूहरुलाई थाहै नदिई जग्गा नाप्न थालेको र त्यसपछि आफूहरुले नियन्त्रणमा लिएको भनी स्थानीयहरुले भन्नुभएको छ, वास्तविकता के हो भनी हामी पनि बुझ्दै छौँ,” प्रहरी उपरीक्षक सुवेदीले उज्यालो अभियानसँग भने ।
स्थानीयहरुले जग्गा कारोवारी (दलाल) हरु आएर अचानक आफूहरुलाई डर त्रास देखाएर जग्गा हड्प्न खोजेको बताएका छन् । प्रहरी नियन्त्रणमा रहेकाहरुसँग के–कस्ता कागजात छन् भनी प्रहरीले केही खुलाएको छैन् ।
यस सम्वन्धमा अहिले बयलवासस्थित इलाका प्रहरी कार्यालय केशरगन्ज बयलवासमा गाउँले र पक्राउ परेकाहरुलाई राखेर छलफल गराउने तयारी भइरहेको प्रहरीले जनायो ।