लालबन्दी – सर्लाहीको उत्तरी भेगका ३ वटा पालिकाले आज (सोमबार) पनि सार्वजनिक बिदा दिएका छन् ।
तामाङ समुदायले मनाउने सोनाम ल्होसार पर्वको अवसरमा लालबन्दी, हरिवन र बागमती नगरपालिकामा आज एक दिन थप बिदा दिएका हुन् । सोनाम ल्होसार पर्व हिजो नै थियो । पर्वका अवसरमा संघीय सरकारले हिजो एक दिन देशैभर सार्वजनिक बिदा दिएको थियो ।
तामाङ समुदायको बाक्लो बसोवास रहेको लालबन्दी, हरिवन र बागमती नगरपालिकाले आज पनि थप एक दिन बिदा दिएका हुन् । यि तीन नगरपालिकामा आज नगरपालिका कार्यालयसँगै वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालयलगायत नगरपालिका मातहतका कार्यालयहरु बन्द रहने छन् ।
सोनाम ल्होसारका अवसरमा हिजो दिनभर जिल्लाको घुर्कौली, नवलपुर, परवानिपुर, सागरनाथ, गौरीशंकरलगायतका स्थानमा शुभकामना आदानप्रदान तथा साँँस्कृतिक कार्यक्रमहरु भएका छन् ।