लालबन्दी – सर्लाहीको लालबन्दीमा बिहीबार दिउँसो ६ घण्टा पूर्व–पश्चिम राजमार्गदेखि दक्षिणमा बिजुली बत्ती, फोन र इन्टरनेट सेवा अवरुद्ध हुने भएको छ ।
बिजुलीको पोलमा रहेका तारहरु व्यवस्थित गर्नका लागि पहिलो चरणमा बिहीबार लालबन्दी वडा नं. ६ इलाका प्रहरी कार्यालयबाट पश्चिम वडा नं. ९ को जनज्योति बहुमुखी क्याम्पसम्म हाईवेदेखि दक्षिण बिजुली, टेलिफोन, केवल तथा इन्टरनेट सेवा बन्द गरिने भएको हो ।
लालबन्दी नगरपालिकामा बुधबार नगरपालिका, नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्र, इन्टरनेट सेवा प्रदायक संस्थाहरु र अन्य सरोकारवालाबीच भएको छलफलमा बिहीबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म अव्यवस्थित तार व्यवस्थापन गर्ने सहमती भएको हो ।
नगरभित्र विद्युत् पोलहरुमा रहेका अव्यवस्थित तारहरुबाट हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गरी शहरी सौन्दर्यता कायम गर्न पहल थालिएको लालबन्दी नगरपालिका कार्यालयले सूचना निकालेर जनाएको छ ।