logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

बरहथवामा विषयगत शाखा प्रमुख र वडा सचिवलाई अभिमुखीकरण प्रदान


  • उज्यालो अभियान

बरहथवा – सर्लाहीको बरहथवामा मंगलबार नगरपालिकाको विभिन्न विषयगत शाखाका प्रमुख र वडा सचिवहरुलाई स्थानीय सरकारमा लैङ्गिक उत्तरदायी सुशासन तथा जवाफदेहिता अभिवृद्धि विषयक अभिमुखीकरण प्रदान गरिएको छ ।

साउथ एशिया पार्टरशीप नेपाल (साप–नेपाल) को आयोजना तथा बरहथवा नगरपालिकाको समन्वयमा शाखा प्रमुख र वडा सचिवहरुलाई एकैठाउँमा राखेर अभिमुखीकरण प्रदान गरिएको हो । उनीहरुलाई नगरपालिकाकै कार्यक्रम अधिकृत रुपेश कुमार कर्ण र पंकज कर्णले अभिमुखीकरण प्रदान गरेका साप–नेपालका कार्यक्रम संयोजक जनक कार्कीले जानकारी दिए ।

साप–नेपालकी अध्यक्ष गीता भट्टराईको अध्यक्षता तथा बरहथवा नगरपालिकाकी मेयर कल्पनाकुमारी कटुवालको प्रमुख आतिथ्यतामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्वोधन गर्दै मेयर कटुवालले शाखा प्रमुख तथा वडा सचिवहरुलाई आ–आफ्नो जिम्मेवारी अनुसारको काममा जिम्मेवार बन्न निर्देशन दिईन् । उनले आगामी दिनमा हरेक शाखाको अनुगमन गरी काम अनुसारको प्रतिवेदन चुस्त राख्ने प्रतिवद्धता व्यक्त गरिन् ।

यस्तै किसिमको अभिमुखीकरण भोली (बुधबार) वडाध्यक्ष र कार्यपालिका सदस्यहरुलाई प्रदान गरिने साप–नेपालका कार्यक्रम संयोजक कार्कीले बताए । साप–नेपालले बरहथवासहित चन्द्रनगर, बसबरिया र हरिपुरमा पिछडिएको मुसहर समुदायको उत्थानका लागि काम गर्दै आइरहेको छ ।