नवलपुर – सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरका वडाध्यक्ष हरिबहादुर भट्टराई नेकपा एमालेमै फर्किएका छन् ।
गत बैशाखमा भएको स्थानीय तह निर्वाचनमा पार्टीले टिकट नदिएपछि भट्टराईले वडामा प्यानलसहित स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए । चुनावमा पुतली चुनाव चिन्हका भट्टराईको प्यानल नै बिजयी भयो । पार्टीले टिकट नपत्याए पनि स्वतन्त्रबाटै उम्मेदवारी दिएर विजयी भएका भट्टराईले ८ महिनापछि पुनः पार्टीमै फर्किएका हुन् । भट्टराईसहित वडा सदस्य अशोक कुमार महतो, जुनुमाया पाख्रिन, सुमित्रादेवी रामलगायत पनि एमालेमै प्रवेश गरेका छन् ।
उनीहरुलाई सोमबार एक कार्यक्रमका बीच एमाले सर्लाहीकी इन्चार्ज कमलादेवी महतो, जिल्ला अध्यक्ष राजनारायण साह, एमाले मधेश प्रदेशका उपाध्यक्ष रेवती पन्तलगायतले पार्टीमा भित्र्याएका हुन् ।