logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

हरिपुरको पचगछियामा थारु माघी महोत्सव सुरु


  • उज्यालो अभियान

हरिपुर – ‘‘नेपालके आदिवासी जनजाति के सान, थारु कला सँस्कृति हमर पहिचान’ भन्ने मूल नारासहित सर्लाहीको हरिपुर नगरपालिका–७, पचगछियामा सोमबारबाट पाँचौं तिला संक्रान्त (माघी) महोत्सव सुरु भएको छ ।

हरिपुर नगरपालिकाको सहयोगमा थारु कला सँस्कृति आयोजना समिति र थारु कल्याणकारिणी सभा नेपालले ३ दिने माघी महोत्सव आयोजना गरेको हो । महोत्सवको उद्घाटनका अवसरमा सोमबार बिहान चितयान, पचगछिया, हरिपुर बजारमा थारु भेषभुषामा भव्य ¥याली निकालिएको छ ।

त्यस्तै, पोखरा विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धान्जली व्यक्त गरिएको छ । बुधबारसम्म संचालन हुने महोत्सवको संविधान सभाका सदस्य रामचन्द्र चौधरीले उद्घाटन गरेका छन् ।

थारु कला संस्कृति आयोजना समितिका अध्यक्ष अरविन्द चौधरीको अध्यक्षतामा आयोजित महोत्सव उद्घाटन समारोहमा सर्लाही क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरी, हरिपुरका मेयर गोपाल पंजियार, बागमती सिँचाई आयोजनाका पूर्व इन्जिनियर रामप्रसाद चौधरी लगायतले मन्तव्य राखे । महोत्सव स्थलमा थारु समुदायको परिकार, सरसामग्री, पहिरन लगायतको स्टल राखिएको स्थानीय चेतनारायण धामीले जानकारी दिए ।

महोत्सवमा थारु कलाकारहरुको नृत्यसहितका कार्यक्रमहरु छन् । नृत्य प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने टिमलाई क्रमश ः नगद २० हजार, १५ हजार र १० हजार तथा डाला डलिया प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश ः ५५ सय, ३५ सय र २५ सय पुरस्कारको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

माघी पर्वकै अवसरमा हरिपुर नगरपालिकाले यसअघि नै माघ २ गते नगरभित्र स्थानीय बिदा दिएको थियो ।