मलंगवा – जिल्ला प्रशासन कार्यालय सर्लाहीले भोली कुनै पनि औपचारिक कार्यक्रम आयोजना नगर्न आग्रह गरेको छ ।
पोखरामा आइतबार भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले नै भोली (सोमबार) एक दिन मूलुकभर शोक बिदा दिने निर्णय गरेकाले जिल्लास्थित सबै सरकारी कार्यालय, स्थानीय तहलगायतलाई भोली यहाँ कुनै पनि औपचारिक कार्यक्रमहरु नगर्न कार्यालयले सूचना गरेको हो ।
प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले ठूलो मानवीय क्षति हुने गरी पोखरामा भएको उक्त विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै नेपाल सरकारको निर्णयानुसार भोली जिल्लाभित्र कुनै पनि किसिमका औपचारिक कार्यक्रम नगर्ने निर्णय भएको बताए । आइतबार दिउँसो बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले विमान दुर्घटनाको शोकमा भोली बिदा दिने निर्णय गरेको थियो ।
६८ जना यात्रु र चार जना चालक दलका सदस्यसहित काठमाण्डौबाट पोखराका लागि उडेको विमान पोखरामा अवतरण गर्ने तयारीका क्रममा सेती नदी खोँचमा खसेको हो । घटनास्थलमा अहिलेसम्म ६८ जनाको शव फेला परेको छ भने ४ जनाको अवस्था अज्ञात छ ।