हुलाकी सडक कालाेपत्रेकाे माग राखेर गत साेमबार सदरमुकाम मलंगवामा स्थानीयले टायर बालेर गरेकाे विराेध प्रदर्शन ।
मलंगवा, पुस १ – सर्लाहीको पूर्व–पश्चिम हुलाकी सडकमा विवाद भएका ठाउँहरुमा समस्या समाधानका लागि सम्वन्धित पालिकालाई एक हप्ताको समय दिइएको छ ।
शुक्रबार सदरमुकाम मलंगवामा बसेको सर्वपक्षीय बैठकले ‘साइड क्लियर’ नहुँदा काम रोकिएका ठाउँहरुमा समस्या समाधानका लागि पालिकालाई जिम्मेवारी दिने निर्णय गरेको हो । त्यसको नेतृत्व पालिकाका प्रमुखले गर्ने भनि निर्णयमा उल्लेख छ ।
हुलाकी सडकको केही ठाउँमा ‘साइड क्लियर’ नहुँदा काम गर्न नसकेको ठेकेदारले बताउँदै आएका छन् । ठेकेदारका प्रतिनिधिसहित बसेको बैठकले हुलाकी सडक निर्माणलाई अब कुनै पक्षबाट बहानाबाजी नगरी अगाडि बढाउने निर्णय गरेको हो ।
तर, स्थानीय वासिन्दाले भने यस्ता छलफल र निर्णय पटक–पटक भएपनि काम नभएको गुनासो गर्दै आइरहेका छन् । हुलाकी सडकमा अहिले कुहिरीमण्डल भएर धूलो उड्दा जनजीवन प्रभावित छ ।
धूलोले सडकमा यात्रा गर्न नसक्ने अवस्था छ भने छेउछाउका घर धूलोले छपक्कै ढाकेका छन् । स्थानीय खानाको गाँससँगै धूलो खान बाध्य भएको गुनासो गर्छन् ।
धूलो सहन नसकेर सर्वसाधारणले ठाउँ–ठाउँमा चक्काजाम गर्न थालेपछि सरोकारवालाहरु सडक कालोपत्रे गराउन तात्तिएका हुन् । शुक्रबारको छलफलले ‘साइड क्लियर’ का लागि १ साताको समय दिएको र १ साताभित्र पनि कुनै प्रगति हुन नसके जिल्ला समन्वय समितिका प्रमुखले सुरक्षा निकायका प्रमुख, सडक आयोजनाका प्रमुखसहित नेतृत्व गरी सडकको मापदण्ड कायम गराएर काम अघि बढाउने निर्णय भएको बैठकमा सहहभागी सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले उज्यालो अभियानससँग बताए ।
बैठकमा सर्लाही क्षेत्र नं. २ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री महिन्द्र राय यादव, २ (ख) का नवनिर्वाचित प्रदेश सभा सदस्य कौशलकिशोर राय, जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारी, ब्रम्हपुरी गाउँपालिकाका अध्यक्ष रामपदारथ साह, हुलाकी सडक निर्देशनालय योजना कार्यालय जनकपुरका प्रमुख कृष्णकुमार महतोसहित सुरक्षा निकायका प्रमुख, नागरिक समाजलगायत अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
ठेकेदारले खुरुखुरु काम गरेपनि अब चिसो सुरु भइसकेकाले तत्काल सडक कालोपत्रे (पिच) को काम पूरा गर्न भने आवश्यक तापक्रम पुग्ने अवस्था छैन् । आयोजना प्रमुख कृष्णकुमार महतोले ‘साइड क्लियर’ भए तत्काल एक लियर मात्रै भएपनि अलकत्रा हालेर धूलो नउडने बनाउन सकिने बताए ।
उनले माघ १५ पछि कालेपत्रेको पूरा काम गर्न सकिने उज्यालोसँग बताएका छन् । ‘साइड क्लियर’ भएर विवाद नभएका ठाउँमा करिव २० किलोमिटर कालोपत्रे भइसकेको आयोजना प्रमुख महतोको दावी छ ।
सर्लाहीमा पूर्व–पश्चिम हुलाकी सडक झण्डै ४१ किलोमिटर छ । विशेष गरी सदरमुकाम मलंगवादेखि पूर्व ब्रम्हपुरी र पर्सा क्षेत्रमा बढी समस्या छ ।
आयोजना कार्यालयले पर्सा गाउँपालिकालाई त ‘साइड क्लियर’ गराइदिन भनी ५ पटक पत्र नै काटिसकेको छ । हुलाकी सडकमा ‘साइड क्लियर’ नहुनुमा राजनीति समेत छ ।
राजनीतिक दलका नेतृत्वकर्ता व्यक्ति र जनप्रतिनिधि स्वयंमले पनि ‘साइड क्लियर’ नगर्नेलाई साथ दिँदा काम गर्न अप्ठेरो परेको जिल्लास्थित एक सुरक्षा प्रमुखले गुनासो गर्नुभयो । त्यस्तै, सडकको टेण्डर हुँदा पालिकाले ‘साइड क्लियर’ गर्ने भनी सम्झौता भएपनि पालिकाबाट असहयोग हुँदा काम गराउन गाह्रो परेको ती सुरक्षा अधिकारीको भनाई छ ।