logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

फूलजोर पुलको निर्माण अन्तिम चरणमा


  • उज्यालो अभियान

जब्दी – सर्लाहीको लालबन्दी नगरपालिका–३, जब्दी र ईश्वरपुर नगरपालिका–८, रामपुरलाई जोड्ने गरी फूलजोर खोलामा निर्माणाधीन पुलको काम अन्तिम चरणमा पुगेको छ ।

वर्षौदेखि प्रतिक्षारत् यो पुलको निर्माण कार्य पूरा हुन लाग्दा स्थानीय वासिन्दा खुसी भएका छन् । सो स्थानमा पुल नहुँदा वर्षायाममा खोला वारपार गर्न समस्या हुँदै आएको थियो ।

अब भने पुलबाटै आवतजावत गर्न मिल्ने भएपछि स्थानीय खुसी भएका हुन् । जब्दीका स्थानीय अर्जुन चौधरीले पुल निर्माण भएसँगै वर्षायाममा जोखिम मोलेर बाढीमा हेलिएर खोला वारपार गर्नुपर्ने बाध्यता अन्त्य भएको बताए ।

ईश्वरपुर नगरपालिकाको रामपुर, बयलवास, रामनगर, बेला, मनहर्वा र चन्द्रनगर गाउँपालिकाका वासिन्दाले लालबन्दी बजारसम्म आउन छोटो दूरीमा पर्ने भएकाले फुलजोर खोला तरेरै आउने गरेका छन् । बाढी आएको बेला भने बयलवासबाट पूर्व–पश्चिम राजमार्गस्थित फूलजोर चोकमा निस्किएर लालबन्दी आउनुपर्ने बाध्यता थियो ।

ईश्वरपुर नगरपालिका–८, का वडाध्यक्ष श्याम थापाले दुई साता भित्रमा पुलको निर्माण कार्य पूरा हुने गरी काम भइरहेको जानकारी दिए । अघिल्लो वर्ष असारमा पुल ढलान गरेकै राति खोलामा बाढी आएर पुलको केही भाग बगाएपछि लामो समयसम्म निर्माण कार्य रोकिएको थियो ।

ठेकेदारलाई निरन्तर ताकेता गरेर पुलको कामलाई अन्तिम चरणमा पु¥याइएको वडाध्यक्ष थापाले बताए । उनका अनुसार पुल निर्माणका लागि सुरुमा १४ करोड रुपियाँमा ठेक्का लागेको थियो ।