उद्योग वाणिज्य संघ लालबन्दीको अध्यक्षमा निर्वाचित दीपेन्द्र कुमार बलम्पाकी (दीपक) । (तस्बिर : उज्यालो अभियान)
लालबन्दी – उद्योग वाणिज्य संघ लालबन्दीको अध्यक्षमा दीपेन्द्र कुमार बलम्पाकी (दीपक) विजयी भएका छन् ।
बलम्पाकी ६२५ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी पन्चलाल श्रेष्ठले ११५ मत मात्रै प्राप्त गरे ।
खसेको १३ मत भने बदर भएको छ । उद्योग वाणिज्य संघ लालबन्दीको अध्यक्ष चयन गर्न शनिबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म लालबन्दी बजारस्थित जानकी माध्यमिक विद्यालयमा बिनाविवाद शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको थियो । मतदानमा उद्योग वाणिज्य संघमा दर्ता भएका १२ सय ४९ जना उद्योगी, व्यवसायीमध्ये ७५३ जनाले मात्रै मत खसाले ।
४० प्रतिसत उद्योगी, व्यवसायी भने मत खसाल्नै आएनन् । निर्वाचन समितिले मतदान सम्पन्न भएको दुई घन्टाभित्रै मतगणना सम्पन्न गरी साँझ ७ बजेतिर नै नतिजा समेत सार्वजनिक गर्यो ।
अध्यक्षमा विजयी बलम्पाकी उद्योग वाणिज्य संघ लालबन्दीको निवर्तमान कार्य समितिमा महासचिव थिए । बलम्पाकी होटल यूनाईटेड ईन लालबन्दीका मालिक हुन् ।
उनी नेपाली कांग्रेस निकट छन् । व्यापारीहरुको छाता संगठन उद्योग वाणिज्य संघ लालबन्दीको ८ औँ वार्षिक साधारण सभा एवं अधिवेशन अन्तर्गत अध्यक्षबाहेक अन्य पदाधिकारी र सदस्यहरु भने असार १६ गते नै सर्वसम्मत चयन भइसकेका थिए ।
जसअनुसार प्रथम उपाध्यक्षमा पूर्णप्रसाद चौलागाई, द्धितीय उपाध्यक्षमा प्रदीप भट्टराई, तृतीय उपाध्यक्षमा महेश कुमार महतो, महासचिवमा रामप्रसाद देवकोटा, उपमहासचिवमा चूडामणि उप्रेती, सचिवमा बिक्रम खड्का, कोषाध्यक्षमा सुवास दाहाल र सह–कोषाध्यक्षमा विशाल थापा रहेका छन् ।
त्यसैगरी, सदस्यहरुमा कमला कुमारी थापा, केशव बहादुर दाहाल, सुधिर कुमार गुप्ता, गोपाल साह, नवलकिशोर यादव, ध्रुव विश्वकर्मा, दिनेश पाठक, विदेश्वर कुमार सिंह, भेषनाथ दाहाल, सुदर्शन आचार्य, नागेन्द्र साह र अनुकुमारी श्रेष्ठ सर्वसम्मत चुनिएका छन् ।