अध्यक्षका उम्मेदवार पन्चलाल श्रेष्ठ (बायाँ) र दीपेन्द्र कुमार बलम्पाकी .
लालबन्दी – उद्योग वाणिज्य संघ लालबन्दीको अध्यक्ष चयन गर्न आज (शनिबार) मतदान हुँदै छ ।
अन्य पदाधिकारी र सदस्यमा सर्वसम्मत भएपनि अध्यक्ष पदमा भने सहमती जुट्न नसकेपछि मतदान हुन लागेको हो । अध्यक्षमा दीपेन्द्र कुमार बलम्पाकी र पन्चलाल श्रेष्ठ उम्मेदवार छन् ।
अध्यक्षका प्रत्यासी बलम्पाकी हालको कार्य समितिमा महासचिव छन् । बलम्पाकी लालबन्दीको डुमडुमे मन्दिर छेउमा रहेको यूनाईटेड होटलका मालिक हुन् भने श्रेष्ठको लालबन्दी बजारमा श्वेत भैरव नामक फेन्सी पसल छ ।
निर्वाचन समितिले बलम्पाकीलाई घर र श्रेष्ठलाई हाँस चुनाव चिन्ह प्रदान गरेको छ । अध्यक्ष चयनका लागि बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने निर्वाचन समितिका संयोजक बाबुकाजी नुच्छे प्रधानले जानकारी दिए ।
मतदान लालबन्दीबजारस्थित जानकी माध्यमिक विद्यालयमा हुने छ । निर्वाचन समितिका संयोजक प्रधानले बेलुका मतदान सम्पन्न भएपछि दुवै उम्मेदवारका प्रतिनिधिसहित सबैजना बसेर मतगणनाको समय तय गरिने उज्यालो अभियानसँग बताए ।
उद्योग वाणिज्य संघ लालबन्दीमा १२ सय ४९ जना उद्योगी, व्यवसायी आवद्ध छन् । उनीहरु नै आजको निर्वाचनमा मतदाता हुन् । वर्तमान कार्य समितिका अध्यक्ष कल्याणकुमार जोशीले संघमा अहिले लालबन्दी बजारसहित रानीगन्ज, नवलपुर, परवानीपुर, पत्थरकोटसहित नगरपालिकाभरीका उद्योगी, व्यवसायी आवद्ध रहेका बताए ।
उद्योगी, व्यवसायीहरुको छाता संगठन उद्योग वाणिज्य संघमा पछिल्लो समय व्यापक रुपमा राजनीति घुसाइएको भन्दै चिन्ता व्यक्त गर्ने गरिएको छ ।