मलंगवा – कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले भोली (शनिबार) पनि चेक काट्ने भएको छ ।
महालेखा नियन्त्रक कार्यालयले आज दिउँसो (शुक्रबार) एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७८/०७९ को वार्षिक खाताबन्दीका क्रममा प्रदेश तथा स्थानीय तहमा संचालित प्रणालीहरु शनिबार राती १२ बजेबाट बन्द हुने भएकाले भोली शनिबार सार्वजनिक बिदा भएतापनि निकासा भुक्तानीको व्यवस्था मिलाउन भनेको हो । यसअघिको सूचनामा शुक्रबार राती १२ बजेसम्म मात्रै चेक काट्न पाइने भनिएकाले आज दिनभर सर्लाही सदरमुकाम मलंगवास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयमा चहलपहल देखिन्थ्यो ।
शनिबारसम्म चेक काट्न पाइने भएपनि सर्भर भने बारम्बार डाउन भइदिँदा सबैले सास्ती पाइरहेका छन् । कोलेनिका सर्लाहीका प्रमुख जीवन पुरीले कामको अत्यन्तै चाप रहेको बताए ।
सर्लाहीका २० वटै स्थानीय तह अहिले सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) मा गइसकेका छन् । सो सुत्रको सर्भर डाउन भइरहने समस्याले सबैलाई टाउको दुखाई भइरहेको हो ।
कोलेनिका सर्लाहीका लेखापाल गौरव खड्काले सर्भरले कामै नगरिरहेको आज साँझ उज्यालो अभियानसँग बताए । सर्लाहीमा धेरै पालिकाहरुले सुत्र अनुसार चेकहरु इन्ट्री गर्न भ्याइसकेका छैनन् ।
जसले गर्दा योजना र कार्यक्रम सकेका उपभोक्ता र केही ठेकेदारहरुले भुक्तानी नपाउने होकी भन्ने डर छ । सुत्रमा इन्ट्री नहुँदा धेरै पालिकामा मारामारको स्थिति रहेको हाम्रा संवाददाताहरुले जनाएका छन् ।
लालबन्दी नगरपालिकाका लेखा अधिकृत नेत्रबहादुर पाख्रिनले लालबन्दी नगरपालिकाको हकमा भने आजै दिउँसोसम्ममा सुत्रमा इन्ट्री गरेर फाइलहरु कोलेनिकामा पठाइसकिएको सुनाए । उनले आफूहरुलाई तनाव नरहेको बताएका छन् ।
