logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

गएरातीको वर्षा र चट्याङपछि सर्लाहीका विभिन्न क्षेत्रमा बिजुली अवरुद्ध


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

लालबन्दी – सर्लाहीको विभिन्न ग्रामीण भेगमा गएरातीदेखि बिजुली अवरुद्ध भएको छ ।

रातीको वर्षा र चट्याङपछि धेरै ठाउँमा बिजुली बत्ती कटेको हो । जिल्लाको हरिपूर्वा निवासी संचारकर्मी मुकेश झाले आफूहरुको क्षेत्रमा रातीदेखि बत्ती नरहेको जानकारी दिए । सदरमुकाम मलंगवामा राती पानी पर्नुभन्दा अगाडि देखिनै विद्युत् अवरुद्ध भएको थियो ।

मलंगवामा रातभर अवरुद्ध बिजुली आज बिहानबाट बल्ल सूचारु भएको मलंगवाका स्थानीय शिवचन्द्र चौधरीले दिए । सर्लाहीका अन्य ग्रामीण भेगहरुमा पनि अहिले बिजुली अवरुद्ध रहेको हाम्रा संवाददाताहरुले जनाएका छन् ।

पानी पर्ने र हावाहुरी चल्ने मौसम सूरु भएसँगै सर्लाहीमा यसरी विद्युत् अनियमित भइरहेको छ । घण्टौं विद्युत् अवरुद्ध हुने र छिनछिनमै कटौति भइरहने समस्याले सर्लाहीवासी हैरान भइरहेका छन् । मुख्य बजार क्षेत्रमा कुनै खराबी आउँदा तुरुन्तै मर्मत हुने गरेको भएपनि ग्रामीण भेगमा अवरुद्ध भएको विद्युत् सूचारु गर्न प्राधिकरणले लामो समय लगाउने गरेको स्थानीयले गुनासो गर्दै आइरहेका छन् ।

प्राधिकरणले भने बिजुलीका पुराना संरचनामा सामान्य हावाहुरी आउँदा र पानी पर्दा समेत खराबी आइहाल्ने गरेकाले यो मौसममा विद्युत् प्रवाहलाई नियमित गर्न नसकिएको बताएको छ ।