logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

बरहथवाको मेयरमा कटुवालको जित सुनिश्चित, सर्लाहीको पहिलो महिला मेयर बन्दै


  • उज्यालो अभियान

बरहथवा – सर्लाहीको बरहथवा नगरपालिकाको मेयरमा नेकपा एमालेकी कल्पनाकुमारी कटुवालको जित सुनिश्चित भएको छ ।

अब वडा नं. ९ र १० को करिव १५ सय जति मतमात्रै गन्न बाँकी हुँदा कटुवालले ५ हजार ३२३ मतले अग्रता लिएकी छन् । उनले ११ हजार ९९ मत प्राप्त गरेकी छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विगुप्रसाद चौधरीले ५ हजार ७७६ मत पाएका छन् । तेस्रो स्थानमा रहेका निवर्तमान मेयर माओवादी केन्द्रका देवानन्द महतोले ५ हजार ७६५ मत मात्रै ल्याएका छन् ।

२०७४ सालको निर्वाचनमा माओवादीका महतोले नै एमालेकी कटुवाललाई पराजित गर्दै मेयर बनेका थिए । अहिले उही महतोलाई झण्डै दोब्बर बढी मतले पराजित गर्दै कटुवाल सर्लाहीमा पहिलो महिला मेयर बन्ने पक्का भएको हो ।

कटुवालको जित निश्चित भएसँगै एमालेले सर्लाहीमा खाता समेत खोल्ने भएको छ । २० मध्ये १९ वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भइसक्दा एमालेले कुनै पनि पालिकाको प्रमुख जितेको छैन् ।

यस्तै, बरहथवाको उपमेयरमा समेत एमालेकै रामबाबुप्रसाद साह जित नजिक छन् । साह २ हजार ५७८ मतले अघि छन् । एमालेका साहले ९ हजार २५५, नेपाली कांग्रेसकी गंगा दाहालले ६ हजार ६७७ र निवर्तमान उपमेयर माओवादी केन्द्रकी सीतादेवी माझीले ५ हजार ५५८ मत मात्रै पाएका छन् ।

बहरथवामा अहिले वडा नं. ९ र १० को तीन ठाउँमा मतगणना चलिरहेको छ । कुनै विवाद नआए मध्यरातसम्ममा मतगणना सकिने निर्वाचन अधिकृतको कार्यालय बरहथवाले जनाएको छ ।

बरहथवाको वडा नं. १७ मा जेठ ३ गते पुनः दोहोर्याएर मतदान गर्नुपरेकाले यहाँ अरु ठाउँमा भन्दा ३ दिन ढिला गरी मतगणना सुरु भएको थियो ।