लालबन्दीमा मंगलबार दिउँसो आयोजित चुनावी सभालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । (तस्बिर : उज्यालो अभियान)

टंक बहादुर क्षेत्री/लालबन्दी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लालबन्दी नगरपालिकाका कांग्रेसी नेता कार्यकर्ताहरु कार्बाहीको भागिदार बन्ने चेतावनी दिएका छन् ।
मंगलबार दिउँसो माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीद्वारा लालबन्दी बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले कांग्रेसी नेता कार्यकर्तालाई त्यस्तो चेतावनी दिएका हुन् । ‘म बडो गम्भिरताका साथ र जिम्मेवारीका साथ भन्न चाहन्छु केन्द्रीय गठबन्धनको तर्फबाट लालबन्दीको मेयरमा माओवादीका प्रल्लाद बुढाथोकी र उपमेयरमा नेकपा एकीकृत समाजवादीका गोविन्द अधिकारी उहाँहरु गठबन्धनको सर्बसम्मतै उम्मेद्वार हो ।’, अध्यक्ष प्रचण्डले चेतावनीको भाषामा अगाडी थपे, ‘त्यसकारण बीचमा कोही कार्यकर्ता आफ्नो स्वार्थ, नेपाली कांग्रेसका कुनै मानिसहरुले आफ्नो ईन्ट्रेस्टको लागि गठबन्धनको निर्णयको उल्लंघन गरेको छ भने त्यो दोष लालबन्दीबासी जनताको पनि हैन, लालबन्दीका दलका नेता कार्यकर्ताको पनि हैन, जो दोषि छन् कार्बाहीको भागिदार हुन्छन् नै, किनकी हामीले गठबन्धनमा प्रष्टसँग भनेका छौं, अनुशासन उल्लंघन गर्नेलाई कार्बाही गरिने छ, त्यो पनि हाम्रो सर्बसम्मत डिसिजन छ ।’

अध्यक्ष प्रचण्डले गठबन्धनमा आवद्ध सबै दलका नेता कार्यकर्ताले केन्द्रीय गठबन्धनको मर्म र भावनालाई बुझेर एकताबद्ध हुनुपर्ने गम्भिर आवश्यकता रहेको बताए । सँगै उनले थपे, ‘लालबन्दी जस्तो ऐतिहाँसिक, भरभराउँदो उदाउँदो छ, यो नगरपालिकालाई अझ समृद्ध बनाउने, अझ सुरक्षित र स्वस्थ स्वच्छ बनाउने जिम्मेवारी गठबन्धनका उम्मेद्वारका रुपमा कमरेड प्रल्लाद बुढाथोकीको नेतृत्वको टिमलाई छ ।’
केन्द्रीय गठबन्धनमा गम्भिर छलफल गरिएको नगरपालिकामा लालबन्दी पर्ने समेत अध्यक्ष प्रचण्डको दाबी थियो । ‘६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा सर्बसम्मतले हाँमीले मेयर र उपमेयर उम्मेद्वार चयन गर्यौं’, अध्यक्ष प्रचण्डको दाबी गर्दैै थपे, ‘त्यसपछि नेपालका खास खास नगरपालिकाहरुका बारेमा पनि अलग्गै गठबन्धनमा छलफल भयो, त्यसमध्ये एउटा लालबन्दी नगरपालिका पनि हो ।’
गठबन्धनमा लालबन्दीको मेयर उम्मेद्वारमा प्रल्लाद बुढाथोकी सर्बसम्मत उम्मेद्वार हुने कुरामा कसैको विमति नभएको दाबी गर्दै अध्यक्ष प्रचण्डले कांग्रेसका मेयर उम्मेद्वार बासुदेव अधिकारीको नाम नलिई उनको उम्मेद्वारी प्राविधिक कारणले फिर्ता हुन नसकेकोमा आफूले पनि बुझ्न नसकेको गुनासो गरे । ‘निर्वाचन अधिकृतको कार्यालयमा काठमाडौंबाट समयमै चिठ्ठी पठाईएको हो म त्यही छु प्रत्येक छलफलमा, त्यही दिन गम्भिर छलफल भयो देश भरिको बारेमा लालबन्दीमा विमति कही पनि भएन सर्बसम्मत भयो’, प्रचण्डको भनाई थियो, ‘चिठ्ठी समयमै पठाईयो तर मैले पनि अहिलेसम्म बुझ्न सकेको छैन त्यो चिठ्ठी ५ बजेपछि मात्रै कसरी यहाँ आईपुग्यो, बीचमा कसले गडबडी गर्यो, प्राविधिक त्रुटी हो या कसैले जानिबुझी बिगारेको हो, त्यो अझै अनुसन्धानमै छ ।’
प्राविधिक रुपले जे भएपनि नेपाली कांग्रेस केन्द्रीय कार्यालयबाट आफ्ना उम्मेद्वारको उम्मेद्वारी फिर्ता सम्बन्धी चिठ्ठी पठाईएकाले गठबन्धनका साझा मेयर उम्मेद्वार प्रल्लाद बुढाथोकी नै भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले लालबन्दीका सचेत मतदाताले उनी जस्ता असल कम्युनिष्ट नेतालाई जिताउने विश्वास आफूले लिएको उल्लेख गरे । बुढाथोकी माओवादी केन्द्रीय कार्यालयमा मुख्य सचिवको रुपमा कार्य गरेर देशव्यापी नेता कार्यकर्तासँग समन्वयकारी भूमिका खेलेका केन्द्रीय स्तरका नेता मात्र नभई एउटा असल र ईमान्दार क्रान्तिकारी कम्युनिष्ट कार्यकर्ता भएकाले लालबन्दीको समृद्धिका लागि उनलाई जिताउनै पर्ने प्रचण्डको जिकिर थियो । प्रल्लाद बुढाथोकी नेतृत्वको गठबन्धन उम्मेद्वारलाई जीताउन आग्रह गर्दै अध्यक्ष प्रचण्डले लालबन्दी नगरपालिकालाई स्मार्ट सिटीको रुपमा निर्माण गर्न, कृषि औद्योगिकीकरण लगायत विकास निर्माणमा आफूले सक्दो पहल गर्ने आश्वासन समेत दिए ।
माओवादी लालबन्दी नगर अध्यक्ष लेखराम जर्गा मगरको अध्यक्षता एवं समाजवादीका उपमेयर उम्मेद्वार गोविन्द अधिकारीले स्वागत गरेको चुनावी सभामा समाजवादीकी नेतृ प्रदेश सभा सदस्य बेची लुंगेलीले समेत सम्बोधन गरेकी थिईन् । उनले लालबन्दी कम्युनिष्टहरुको लालकिल्ला भएकाले माओवादी र एकीकृत समाजवादीको गठबन्धनका मेयर उपमेयर उम्मेद्वारलाई जीताएर देखाउनुपर्ने आवश्यकता रहेको बताईन् । वडा तहमा पनि गठबन्धनको प्रयास भईरहेको नेतृ लुंगेलीको भनाई थियो । कार्यक्रममा बोल्दै मेयर उम्मेद्वार बुढाथोकीले लालबन्दीको समग्र विकास निर्माणका लागि आफूले उम्मेद्वारी दिएको बताए । आफूले जिते लालबन्दी नगरपालिकालाई स्मार्ट सिटीको रुपमा मात्र हैन, गोलभेँडा शित भण्डार केन्द्र निर्माण गर्ने, कृषि औद्योगिकीकरणतर्फ लगानी गर्दै रोजगारीका अवसर सृजना गर्ने लगायत लालबन्दी नगरपालिकाको समग्र विकास निर्माण गरेरै छाड्ने बुढाथोकीको प्रतिबद्धता थियो ।
लालबन्दीमा मंगलबार दिउँसो आयोजित चुनावी सभालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । (तस्बिर ः उज्यालो अभियान)