विहिबार दिउँसाे लालबन्दी नगरपालिका-३ जब्दीमा चुनावी प्रचार प्रसारका क्रममा घरदैलाे गर्दै कांग्रेसका मेयर उम्मेद्वार बासुदेव अधिकारी सहित अन्य नेता कार्यकर्ताहरु । (तस्बिर : उज्यालाे अभियान)
लालबन्दी – पार्टी केन्द्रले उम्मेद्वारी फिर्ता गरायाे भनेर विपक्षी पार्टीका नेता कार्यकर्ताले अनावश्यक हल्ला चलाएकाे आराेप लगाउँदै नेपाली कांग्रेस लालबन्दीका नेता कार्यकर्ताहरुले आफूहरु मेयर उम्मेद्वार बासुदेव अधिकारीकाे चुनाव प्रचार प्रसारमा अझ एकजुट भएर लागेकाे बताएका छन् ।
सामाजिक संजाल लगायत विभिन्न माध्यमद्वारा आफ्ना मेयर उम्मेद्वार बासुदेव अधिकारीकाे उम्मेद्वारी फिर्ता सम्बन्धि हल्ला चलाएर अनावश्यक फाईदा लुट्न खाेजेकाे लालबन्दीका कांग्रेस नेता कार्यकर्ताले आराेप लगाएका छन् । तर त्यस्ता अनावश्यक हल्लालाई चिर्दै आफूहरु एकजुट भएर कांग्रेसबाट लालबन्दी नगरपालिकामा मेयर उम्मेद्वार बासुदेव अधिकारीलाई जीताउन गुट र उपगुट नभनी एकजुट भएर लागि परेकाे कांग्रेस क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा क का सभापति सिताराम दाहालले बताए । ´उम्मेद्वारी फिर्ता भनेर हल्ला चलाईएपछि हामी झन एकजुट भएर आफ्ना उम्मेद्वारलाई जिताउन कम्मर कसेर लागि परेका छाैं`, दाहालले उज्यालाे अभियानसँग भने, ´बासुदेव अधिकारीलाई जीताएर देखाउने छाैं ।`
याे पनि पढ्नाेस्
मेयरको उम्मेदवार ‘ब्याक’ गर्दैनौँ : नेपाली कांग्रेस लालबन्दी
चुनाव प्रचार प्रसारका क्रममा लालबन्दी नगरपालिका-२, पुनर्वास टाेलमा बुधबार नेकपा माओवादी केन्द्रका स्थानीय नेता सहित विभिन्न पार्टीबाट ५५ जना र विहिबार लालबन्दी नगरपालिका-४ जब्दीमा विभिन्न दलका ४ जना नेता कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराईएकाे दाहालले दावी गरे । दाहालका अनुसार पुनर्वास टाेलाका माओवादीबाट अघिल्लाे चुनावमा वडा सदस्य जीतेका र हाल पनि साेही पार्टीबाट वडा सदस्यमा उम्मेद्वारी दिएका रविन पासवान तथा माओवादीबाट २ नम्बर वडामा वडाध्यक्षकाे प्रत्यासीमा दावी गरेका श्री प्रसाद पासवान सहित नेकपा एमाले, जसपा लगायत पार्टीका ५५ जना कांग्रेसमा प्रवेश गरेका छन् । त्यस्तै विहिबार पनि जब्दीमा घरदैलाे गर्ने क्रममा विभिन्न पार्टीबाट स्थानीय ४ जना नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेकाे दाहालले दावी गरे ।
विहिबार दिउँसाे लालबन्दी नगरपालिका-३ र ४ नम्बर वडा पर्ने जब्दी गाउँमा कांग्रेस मेयर उम्मेद्वार अधिकारी कांग्रेसी नेता कार्यकर्ताहरुकाे ठूलाे दलबल सहित घरदैलाे कार्यक्रममा व्यस्त रहेकाे अवस्थामा भेटिएका थिए । घरदैलाे कार्यक्रममा सँगै रहेका कांग्रेस क्षेत्र नम्बर १ का महाधिवेशन प्रतिनिधि तथा नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष दिपक अधिकारी, नेविसंघका पूर्व जिल्ला सभापति एवं युवा नेता विश्वामित्र रिजाल लगायतका नेता कार्यकर्ता मात्र हैन जब्दी गाउँका सयाैं महिला, युवा लगायत समेत नाचगान सहित सहभागी भएका थिए । कांग्रेसका युवा नेताद्वय अधिकारी र रिजालले पार्टीकाे तर्फबाट मेयरका उम्मेद्वार अधिकारीकाे उम्मेद्वारी कुनैपनि हालतमा फिर्ता नभएकाे र भ्रममा नपरी उनलाई जीताउनका लागि सबै एकजुट हुन आग्रह समेत गरे । मेयर उम्मेद्वार अधिकारीलाई जीताउनका लागि पार्टी केन्द्रले गर्ने जस्ताेसुकै कार्बाही भाेग्न समेत आफूहरु तयार रहेकाे अधिकारी र रिजालकाे कथन थियाे ।
त्यस्तै कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहले लालबन्दी नगरपालिकामा पार्टीकाे तर्फबाट मेयर उम्मेद्वार बासुदेव अधिकारीकाे उम्मेद्वारी कायमै रहेकाले अनावश्यक हल्लाका पछाडी नलागी चुनाव प्रचार प्रसारमा एकजुट भएर लाग्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् । ´हेर्नाेस् म जिल्ला सभापति आफै आज दिउँसाे उहाँकाे चुनाव प्रचार प्रसारमा लालबन्दीका विभिन्न स्थानमा गएकाे थिएँ`, कांग्रेस जिल्ला सभापति सिंहले विहिबार साँझ उज्यालाे अभियानसँग भने,´त्यसैले लालबन्दीका सम्पूर्ण नेता कार्यकर्तालाई एकजुट भएर पार्टीका मेयर उम्मेद्वार बासुदेव अधिकारीलाई जीताउनका लागि हार्दिक आग्रह गर्दछु ।`
त्यस्तै कांग्रेस सर्लाहीका सह-सचिब एवं लालबन्दी निवासी कांग्रेस नेता ईन्द्र बहादुर याेञ्जनले पार्टीकाे तर्फबाट लालबन्दीका मेयर उम्मेद्वार नेता बासुदेव अधिकारीकाे उम्मेद्वारीकाे विषयमा अनावश्यक हल्ला चलाएर अन्याैलता सृजना गराईए पनि आफूहरु भ्रममा नरहेकाे जानकारी दिए । ´बरु पार्टीकाे कार्बाही सहन तयार छाैं, हेराैन कति नेता कार्यकर्तालाई कार्बाही गर्दाे रहेछ केन्द्रले`, याेञ्जनले उज्यालाे अभियानसँग विहिबार साँझ भने, ´तर लालबन्दीमा कांग्रेसकाे मेयर उम्मेद्वार बासुदेव अधिकारी नै हुनुहुन्छ ।`
कांग्रेस लालबन्दी नगर समितिका सभापति प्रशान्त आचार्यले आफ्नो पार्टीका मेयर पदको उम्मेदवारलाई कुनै पनि हालतमा पछि नहटाउने बताएका छन् । कांग्रेसका केन्द्रीय सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले हस्ताक्षर गरी पार्टीको तर्फबाट लालबन्दी नगरपालिकाको मेयर पदका उम्मेदवार बासुदेव अधिकारीको उम्मेदवारी फिर्ता भएको र माओवादी केन्द्रका उम्मेदवारलाई सहयोग गर्ने निर्णय भएको पत्र केही दिनअघि सार्वजनिक भएपछि लालबन्दीका कांग्रेसी नेता कार्यकर्ताहरु आक्राेश सहित थप एकजुट भएकाे देखिन्छ । लालबन्दीका नगर सभापति आचार्यले आफूहरु चुनावमा होमिईसकेकाले कुनै पनि हालमा उम्मेद्वारी फिर्ता नहुने र कसैलाई पनि सहयोग समेत नगर्ने उज्यालो अभियानसँग बताए । लालबन्दीमा कांग्रेसको अवस्था राम्रो देखेर विपक्षी दलले अनेक पत्र लेखाई अनावश्यक हल्ला पिटाएका सभापति आचार्यको दावी छ ।
केही दिनअघि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्दा पनि सभापति देउवाले आफ्ना उम्मेदवार अधिकारीको उम्मेदवारी फिर्ता भएको भन्दै पत्र पठाएका थिए तर पछि निर्वाचन अधिकृतले अन्तिम नामावली प्रकाशन भइसकेपछि पत्र आएको भन्दै अधिकारीको उम्मेदवारी कायमै रहेको पत्र निकालेका थिए । त्यसपछि मेयर पदका उम्मेदवार अधिकारी मत माग्दै निरन्तर घरदैलोमा छन् । उनिसँगै उपमेयर उम्मेद्वार कल्पना पाख्रिन समेेत चुनाव प्रचार प्रसारमा सँगसँगै व्यस्त छिन् ।
लालबन्दीमा नेकपा माओवादी केन्द्रले कांग्रेसका मेयर उम्मेद्वार अधिकारीलाई ‘ब्याक’ गराउने प्रयास गरिरहेको छ । माओवादीले लालबन्दीको मेयरमा पार्टीभित्र केन्द्रीय राजनीतिमा प्रभाव पार्ने र अध्यक्ष प्रचण्ड नजिकका केन्द्रीय सदस्य प्रल्हाद बुढाथोकीलाई उठाएको छ ।
माओवादीले लालबन्दीको मेयर-उपमेयरमा नेकपा (एकीकृत समाजवादी) सँग चुनावी तालमेल गरेको छ । मेयरमा बुढाथोकी र उपमेयरमा समाजवादीबाट गोविन्द अधिकारीलाई तालमेल सहित उम्मेद्वारी दर्ता गराईएकाे हाे । लालबन्दी नगरपालिकामा नेकपा एमालेकाे तर्फबाट भने मेयरमा गाेविन्द महत, लाेकतान्त्रिक समाजवादी पार्टीबाट सुनिल साह, राप्रपाबाट उमेश खड्का लगायतले उम्मेद्वारी दिएका छन् ।