logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

मेयरको उम्मेदवार ‘ब्याक’ गर्दैनौँ : नेपाली कांग्रेस लालबन्दी


  • उज्यालो अभियान

लालबन्दी – नेपाली कांग्रेस लालबन्दीले आफ्नो पार्टीका मेयर पदको उम्मेदवारलाई कुनै पनि हालतमा पछि नहटाउने बताएको छ ।

कांग्रेसका केन्द्रीय सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले हस्ताक्षर गरी पार्टीको तर्फबाट लालबन्दी नगरपालिकाको मेयर पदका उम्मेदवार बासुदेव अधिकारीको उम्मेदवारी फिर्ता भएको र माओवादी केन्द्रका उम्मेदवारलाई सहयोग गर्ने निर्णय भएको पत्र सार्वजनिक भएपछि कांग्रेस लालबन्दीको आधिकारिक धारणा सार्वजनिक भएको हो ।

नेपाली कांग्रेस लालबन्दीका नगर सभापति प्रशान्त आचार्यले आफूहरु चुनावमा होम्मिसकेकाले कुनै पनि हालमा उम्मेदवारी फिर्ता नहुने र कसैलाई पनि सहयोग समेत नगर्ने उज्यालो अभियानसँग बताए । लालबन्दीमा कांग्रेसको अवस्था राम्रो देखेर विपक्षी दलले अनेक पत्र लेखाई अनावश्यक हल्ला पिटाएका सभापति आचार्यको भनाई छ ।

केही दिनअघि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्दा पनि सभापति देउवाले आफ्ना उम्मेदवार अधिकारीको उम्मेदवारी फिर्ता भएको भन्दै पत्र पठाएका थिए तर पछि निर्वाचन अधिकृतले अन्तिम नामावली प्रकाशन भइसकेपछि पत्र आएको भन्दै अधिकारीको उम्मेदवारी कायमै रहेको पत्र निकालेका थिए । त्यसपछि मेयर पदका उम्मेदवार अधिकारी मत माग्दै निरन्तर घरदैलोमा छन् ।

लालबन्दीमा नेकपा माओवादी केन्द्रले कांग्रेसका उम्मेदवारलाई ‘ब्याक’ गराउने प्रयास गरिरहेको छ । माओवादीले लालबन्दीको मेयरमा पार्टीभित्र केन्द्रीय राजनीतिमा प्रभाव पार्ने र अध्यक्ष प्रचण्ड नजिकका केन्द्रीय सदस्य प्रल्हाद बुढाथोकीलाई उठाएको छ ।

माओवादीले लालबन्दीको मेयर–उपमेयरमा नेकपा (एकीकृत समाजवादी) सँग चुनावी तालमेल गरेको छ । मेयरमा बुढाथोकी र उपमेयरमा समाजवादीबाट गोविन्द अधिकारीलाई उठाइएको छ ।