लालबन्दी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लखन्देही खोलाको पुल मर्मत गर्न सूरु गरिएको छ ।

सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले लामो समयदेखि जिर्ण अवस्थामा रहेको यो पुलको मर्मत कार्य अघि बढाएको हो । पुलको एक लियर नै उप्किएर अत्यधिक खाल्डाखुल्डी पर्दा सवारी आवागमन प्रभावित भइरहेको थियो ।

हरिवन नगरपालिका र लालबन्दी नगरपालिकाको सीमामा पर्ने लखन्देही खोलाको पुल अत्यन्तै खराब हुँदा सवारी जाम समेत लाग्ने गरेको छ । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका सुपरभाइजर पुण्यप्रसाद खतिवडाले पुलमा कालोपत्रे भर्नुअघि गरिने अन्य मर्मत सम्भारको काम चलिरहेको जानकारी दिए ।

उनका अनुसार केही दिनभित्रै पुलको खाल्डाखुल्डीमा कालोपत्रे भरेर सकिने छ । पुल मर्मत लागि एक दर्जन बढी कामदार खटाइएको सुपरभाइजर खतिवडाले बताए । पुल मर्मत गरुञ्जेल एकतर्फी सवारी साधन मात्रै सञ्चालन हुने छन् ।

मर्मत अवधिभर पुलको तल खोलाबाट समेत सवारी साधन पास गराइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ । बारम्बार मर्मत गरिने लखन्देही खोलाको यो पुल अधिकभार र सवारीको चापका कारण छोटो समयमै भत्किने गरेको छ ।

निकै पुराना भइसकेका जिल्लाका अन्य पुल र पूर्व–पश्चिम राजमार्गका सडक पनि बारम्बार भत्किने र टाल्ने काम हुँदै आएको छ ।

तस्बीरहरु : जनार्जन खत्री/उज्यालो अभियान