मलंगवा – सर्लाहीमा हावाहुरी र वर्षाले विद्युत अनियमित भएको छ । कतिपय ठाउँमा शनिबार राती देखि नै बिजुली बत्ती छैन् ।
बिजुली नहुँदा सर्वसाधारणलाई मोवाइल चार्ज गर्नदेखि बिजुलीबाट हुने अन्य काम गर्न समस्या परेको छ । शनिबार रातीको हावाहुरीले विभिन्न स्थानमा पोल ढालेको र तारहरु लत्रिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
मलंगवा वितरण केन्द्र अन्तर्गत अहिले पनि सीमरा भगवतीपुर, खैर्बा लगायतका स्थानमा शनिबार राती देखि विद्युत अवरुद्ध रहेको छ । मलंगवा वितरण केन्द्रका प्रमुख विनोद कुमार यादवले धेरै ठाउँको विद्युत सूचारु भइसकेको र अब सीमरा भगवतीपुर, खैर्बालगायतका केही ठाउँमा विद्युत् सूचारु हुन बाँकी रहेको बताए ।
उनले ढलेको पोलहरु फेर्न तथा लत्रिएको तार उठाउन सोमबार पनि कर्मचारी परिचालन भएका जानकारी दिए । हावाहुरीले मलंगवा वितरण केन्द्र अन्तर्गत मात्रै १५÷२० वटा पोल भाँचिएको छ ।
पहिले–पहिले पोल लिनका लागि स्थानीयवासीहरु आफै टायर गाँढा लिएर आउने गरेको भएपनि अहिले भने प्राधिकरणकै गाडीले लानुपर्ने अवस्था रहेको कर्मचारीहरुले बताएका छन् । यस्तै, लालबन्दी वितरण केन्द्र अन्तर्गत झरझरा, देउराली, घारिबथान लगायतका स्थानमा विद्युत् अवरुद्ध छ ।
त्यहाँ विद्युत् सूचारु गर्नका लागि आफूहरुले काम गरिरहेको लालबन्दी वितरण केन्द्रका प्राविधिक मोहन श्रेष्ठले जानकारी दिए । उता, बरहथवा वितरण केन्द्र अन्तर्गत भने कुनै पनि क्षेत्रमा विद्युत अवरुद्ध नरहेको वितरण केन्द्र प्रमुख त्रिभुवन यादवले बताए ।
यादवले बसबरिया, धनकौललगायतका क्षेत्रमा ५÷६ वटा पोल ढल्दा बिजुली अवरुद्ध भएको भएपनि अहिले सबैतिर मर्मतको काम सक्किसकेको जानकारी दिए ।
सर्लाहीमा बरहथवा वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा रौतहटको चन्द्रनिगाहपुरबाट तानिएको बत्ती जोडिएको छ भने अन्य क्षेत्रमा नवलपुरस्थित ग्रिड सवस्टेशनबाट लाईन जोडिएको छ ।