logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

हावाहुरीले रुख ढल्दा फूलजोर–घारिबथान सडक अवरुद्ध


  • उज्यालो अभियान

फूलजोर-घारिबथान सडकमा हावाहुरीले ढलेको रुख ।

घारिबथान – हावाहुरीले एक दर्जन बढी स्थानमा रुख ढल्दा सर्लाहीको फूलजोर चौकदेखि घारिबथानसम्म पुग्ने सडक अवरुद्ध भएको छ ।

शुक्रबार रातीको हावाहुरीले ठाउँ–ठाउँमा रुख ढलेकाले पूर्व–पश्चिम राजमार्गस्थित फूलजोर चोकदेखि उत्तरतर्फ ईश्वरपुर नगरपालिका–१२, कालिन्जोर घारिबथानसम्म पुग्ने सडक अवरुद्ध भएको हो । सो सडकको एक दर्जन बढी स्थानमा साललगायत अन्यजातका रुख ढल्नुका साथै केही ठाउँमा हाँगाहरु लाछिएर सडकमा परेको स्थानीयवासीले बताएका छन् ।

रुख ढलेर अवरोध भएपछि फूलजोर–घारिबथान सडकमा शनिबार कुनै पनि चार पाङ्ग्रे सवारी चल्न सकेनन् । मोटरसाइकलहरु भने रुख ढलेको दायाँ बायाँ भएर सञ्चालन भइरहेका छन् । घारिबथानका स्थानीयवासी एवं म्याजिक चालक छेसल तामाङले फूलजोरको सडक अवरुद्ध भएपछि बाँके चोकदेखि घारिबथान पुग्ने सडक प्रयोग गरिएको जानकारी दिए ।

फूलजोरबाट जाने सडक अवरुद्ध भएपछि लालबन्दी बजारबाट घारिबथानसम्म पुग्न फूलजोर चोकदेखि सात किलोमिटर पूर्व गएर बाँके चोक हुँदै जानुपर्ने बाध्यता परेको छ । बाँके चोकबाट घारिबथानसम्म पुग्ने सडकमा समेत हावाहुरीले एउटा रुख ढलेको भएपनि ढलेकै रुखको छेउबाट चार पाङ्ग्रे सवारी साधन सञ्चालन भइरहेका प्रहरी चौकी फूलजोरका प्रहरी सहायक निरीक्षक (असई) रवी लामाले बताए ।

असई लामाले फूलजोर–घारिबथान सडकमा पनि ढलेका रुख र हाङ्गाविगाह हटाउने बित्तिकै सडक सूचारु हुने अवस्था रहेको बताए । सर्लाहीमा शुक्रबार राती हावाहुरीसहित सामान्य वर्षा भएको थियो ।

हावाहुरीले विभिन्न स्थानमा घरको छानामा हालिएको जस्ता पाता र टायलहरु उडाएको स्थानीयवासीले बताएका छन् । हावाहुरीले फल लाग्न लागेका आँप र लिचीमा क्षति गरेको छ भने केही स्थानमा धानचमारा आउन लागेको मकैँ ढालेको किसानहरुले बताएका छन् ।

यस्तै, रातीको हावाहुरीले जिल्लाको विभिन्न स्थानमा अवरुद्ध विद्युत् धमाधम सुचारु भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । हावाले ठाउँ–ठाउँमा पोल ढालेर तथा तार चुँडाएर अवरुद्ध भएको अधिकांश ठाउँको विद्युत् शनिबार साँझसम्म सूचारु भइसकेको नेपाल विद्युत् प्राधिकरणको लालबन्दी, मलंगवा र बरहथवा वितरण केन्द्रले जनाएका छन् ।

लालबन्दी बजार र आसपासको क्षेत्रमा अवरुद्ध विद्युत् भने राती नै सूचारु भइसकेको थियो । रातीको हावाहुरीसहितको वर्षापछि किसानलाई खेतबारी खनजोत गरेर मकै रोप्न मौका मिलेको छ ।