मलंगवा – आउँदो ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सर्लाही, महोत्तरी र रौतहटको नेपाल–भारत सीमा नाका तीन दिन अघिदेखि बन्द गरिने भएको छ ।
मंगलबार महोत्तरीको बर्दिवासमा बसेको तीन जिल्लाका सुरक्षा अधिकारी तथा भारतको सीतामढी जिल्लाका पदाधिकारीहरु र सम्वद्ध अधिकारीहरुबीचको जिल्ला स्तरीय सीमा समन्वय बैठकले मतदानको तीन दिनअघि अर्थात् ७२ घन्टा अघिदेखि नै सीमा नाका सिल गर्ने निर्णय गरेको हो । नेपालका तर्फबाट सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको नेतृत्वमा बसेको बैठकमा महोत्तरी र रौतहटका प्रमुख जिल्ला अधिकारी, महोत्तरी र सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी, तीनवटै जिल्लाका नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
यस्तै, बैठकमा तीनवटै जिल्लाका भन्सार कार्यालयका प्रमुखहरुको पनि उपस्थिति रहेको थियो । भारतको तर्फबाट भने सीतामढी जिल्लाका मुख्य जिल्ला अधिकारीको नेतृत्वमा त्यहाँका प्रहरी प्रमुख, भन्सार प्रमुख र एस.एस.बी. का अधिकारीहरुको उपस्थिति रहेको थियो ।
बैठकमा बिहारको स्थानीय निर्वाचनमा नेपालका अधिकारीहरुबाट पाएको सहयोगका लागि भारतीय पक्षले धन्यवाद् व्यक्त गर्नुका साथै नेपालमा वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनमा आवश्यक सहयोग तथा समन्वय गर्ने भारतीय पक्षले प्रतिवद्धता व्यक्त गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी गौतमले बताए ।
बैठकमा खुला सीमा नाकाका कारण हुन सक्ने चोरी तस्करी नियन्त्रण, लागूऔषध तथा मदिराको ओसारपसार नियन्त्रण, सूचना आदानप्रदान, अवैध मुद्राको कारोवार नियन्त्रण तथा नेपालमा हुन लागेको स्थानीय तह निर्वाचन २०७९ मा सुरक्षा संवेदनशीलताको विषयमा समेत छलफल भएको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिए ।