logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

सर्लाहीमा एसईई दिने छात्रभन्दा छात्रा धेरै, आजबाट परीक्षा सुरु


  • उज्यालो अभियान

फाइल तस्बीर ।

लालबन्दी – कोरोना भाइरस संक्रमणका कारण दुई वर्ष हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सर्लाहीसहित देशैभर सुरु भएको छ ।

यसअघि दुई वर्ष विद्यालयकै मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक भएको थियो । यसपालि राष्ट्रिय परीक्षा बोर्डले तयार पारेको प्रश्नपत्रकै आधारमा विद्यार्थीले परीक्षा दिन सुरु गरेका छन् । पहिलो दिन आज विद्यार्थीले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिइरहेका छन् ।

साउन १ गतेदेखि कक्षा ११ को शैक्षिक सत्र सुरु हुनुअघि नै एसईईको नतिजा सार्वजनिक गरिसक्ने बोर्डले जनाएको छ । यता सर्लाहीमा यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सर्लाहीबाट १० हजार ४२१ जना परीक्षार्थी सहभागी भएका शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाले जनाएको छ । तीमध्ये छात्रा पाँच हजार ३३८ र छात्र पाँच हजार ८३ जना रहेका छन् ।

छात्रभन्दा छात्रा २५५ जना धेरै छन् । परीक्षामा नियमिततर्फ १० हजार ३०१ जना र ग्रेडवृद्धितर्फ १२० जना विद्यार्थी सहभागी भएका छन् । परीक्षा सञ्चालनका लागि सर्लाहीमा ३६ वटा परीक्षा केन्द्र कायम गरिएको शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाका निमित्त प्रमुख सुनिल कुमार कुशवाहाले उज्यालो अभियानसँग बताए । उनका अनुसार यो वर्ष एउटा परीक्षा केन्द्र थप भएको छ ।

बरहथवा नगरपालिकास्थित जनहित मलभोगिया मोनिलाल माध्यमिक विद्यालय हात्तीडण्डामा नयाँ परीक्षा केन्द्र कायम गरिएको हो । एसईईमा सर्लाहीबाट ९५ वटा सामुदायिक र ४३ संस्थागत विद्यालय सहभागी भएका शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।

परीक्षा सञ्चालन गर्न ३६ जना केन्द्राध्यक्ष, ७३ जना सहायक केन्द्राध्यक्ष, ५२२ जना निरीक्षक, १०३ जना परीक्षा सहायक र २१० जना विद्यालय सहयोगी खटिएका निमित्त इकाइ प्रमुख कुशवाहाले बताए ।