logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

सर्लाहीमा कार्यरत ७ जना इन्सपेक्टरको सरुवा


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीमा कार्यरत ७ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को एकसाथ सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार देशभरका ६७३ जना इन्सपेक्टरको सरुवा निकाल्दा सर्लाहीमा कार्यरत रहेका ७ इन्सपेक्टरको सरुवा भएको हो । जिल्ला प्रहरी कार्यालय मलंगवामा कार्यरत दुई जना प्रहरी निरीक्षकसहित लालबन्दी, केशरगन्ज, हरिपुर र हरिवनस्थित इलाका प्रहरी कार्यालयका इन्चार्ज र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुखको सरुवा भएको हो ।

इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक एवं इन्चार्ज निर्मल थापाको महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरमा सरुवा भएको छ । काभ्रेको पनौती निवासी थापाको घर पायक सरुवा भएको हो । लालबन्दी प्रहरीको इन्चार्जमा अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय ईटहरी सुनसरीबाट प्रहरी निरीक्षक शान्ताराम कार्की आउने भएका छन् ।

ईश्वरपुरस्थित इलाका प्रहरी कार्यालय केशरगन्ज बयलवासका प्रहरी निरीक्षक एवं इन्चार्ज जनकराज ढुंगानाको जिल्ला प्रहरी कार्यालय बझाङमा सरुवा भएको छ । अछाम जिल्ला निवासी ढुंगानाको छिमेकी जिल्ला बझाङमा सरुवा भएको हो । बयलवासमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा मकवानपुर सामुदायिक प्रहरी शाखाबाट प्रहरी निरीक्षक रोशन थापा आउने भएका छन् ।

हरिवनस्थित इलाका प्रहरी कार्यालय काजमा रहेका प्रहरी निरीक्षक एवं इन्चार्ज भूपेन्द्र गिरीको जिल्ला प्रहरी कार्यालय बागलुङमा सरुवा भएको छ भने हरिवनमा महानगरिय प्रहरी वृत्त दरबारमार्ग काठमाडौं अपराध नियन्त्रण शाखाबाट प्रहरी निरीक्षक मुकेश ताम्राकार आउने भएका छन् ।

इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक एवं इन्चार्ज बेदबहादुर पौडेलको जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा सरुवा भएको छ । हरिपुरमा नयाँ प्रहरी निरीक्षकका रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगंजबाट बिजय कुँवर आउने भएका छन् ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय मलंगवामा कार्यरत प्रहरी निरीक्षक कृष्ण गिरीको महानगरीय प्रहरी परिसर काठमाडौं र जिप्रका मै कार्यरत प्रहरी निरीक्षक जटाशंकर यादवको इलाका प्रहरी कार्यालय धोबिडाँडा रामेछापमा सरुवा भएको छ । उनीहरुको ठाउँमा इलाका प्रहरी कार्यालय खोटाङबजार खोटाङबाट प्रहरी निरीक्षक सुमित कुशवाहा र संघीय प्रहरी इकाई कार्यालय जनकपुर धनुषा केन्द्रीय अनुसन्धान सेलबाट प्रहरी निरीक्षक चन्देश्वर यादव आउने भएका छन् ।