logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

जरजर अवस्थामा रहेको हुलाकी सडक निर्माणलाई तीव्रता दिने निर्णय


  • उज्यालो अभियान

धूलाम्मे अवस्थामा रहेको सर्लाहीको पूर्व–पश्चिम हुलाकी सडक ।

मलंगवा – अत्यन्तै जिर्ण अवस्थामा रहेको सर्लाहीको पूर्व–पश्चिम हुलाकी सडक निर्माणलाई तीव्रता दिने सर्वपक्षिय बैठकले निर्णय गरेको छ ।

हुलाकी सडक निर्माणका विषयमा छलफल गर्न सोमबार सदरमुकाम मलंगवामा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको अध्यक्षतामा सर्वपक्षिय बैठक बसेको थियो । बैठकले जरजर अवस्थामा रहेको हुलाकी सडकको धूलोले सर्वसाधारण निकै आजित भइरहेकाले तत्काल निर्माणको कामलाई तीव्रता दिने निर्णय गरेको हो ।

यसमा ठेकेदार र उनीहरुका प्रतिनिधिले पनि सहमती जनाएका बैठकमा सहभागीहरुले बताएका छन् । भारतीय सीमा नजिकै सर्लाहीको पूर्वी भेग संग्रामपुरदेखि सदरमुकाम मलंगवा हुँदै पश्चिमी भेग बलरासम्मको पूर्व–पश्चिम हुलाकी सडक वर्षौदेखि असाध्य जिर्ण अवस्थामा छ ।

सो सडकमा अहिले हिउँदयाममा बुङबुङती धूलो उडिरहेको छ भने पानी पर्नासाथ हिलाम्मे हुने गरेको छ । जनप्रतिनिधि, राजनीतिक दलका नेता, सुरक्षा अधिकारी, हुलाकी सडकका प्रमुख, ठेकेदार र अन्य सरोकारवालाहरुको उपस्थितिमा बसेको सोमबारको बैठकले हुलाकी सडकको तीनवटै खण्डका ठेकेदारले मंगलबारदेखि नै कम्तीमा तीन–तीन स्थानबाट तीव्र रुपमा काम अघि बढाउने, हरेक १५ दिनमा जिल्ला प्रशासन कार्यालयमा प्रगति विवरण बुझाउने, गाउँबस्ती रहेको ठाउँमा सम्वन्धित निर्माण व्यवसायीले सडकमा पानी छर्की धुलो उड्ने समस्यालाई समाधान गर्ने निर्णय गरिएको छ ।

यस्तै, निर्माण व्यवसायीले उठाएका समस्याहरु कानून र सम्झौता बमोजिम हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामले सम्वोधन गर्ने तथा अनुगमन कार्यलाई तीव्रता दिने, सडक निर्माणका क्रममा आउन सक्ने विवादहरुलाई स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाजसँगको समन्वयमा हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामले समाधान गर्ने तथा स्थानीय स्तरमा समाधान हुन नसकेको विवादको सम्वन्धमा जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई समयमा नै जानकारी गराउने निर्णय गरिएको छ ।