नवलपुर – संघीय सरकारकी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अबको दुई वर्षभित्रमा देशका सबै घरमा बिजुली बत्ती पुर्याउने प्रतिवद्धता व्यक्त गरेकी छन् ।
पूर्व–पश्चिम राजमार्गस्थित सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा निर्मित १३२÷३३ केभी सवस्टेसनको मंगलबार उद्घाट गर्दै मन्त्री भुसालले अब जस्तोसुकै दुरदराजका नागरिकले पनि बिजुलीको उज्यालोबाट बञ्चित हुनु नपर्ने दाबी गरिन् । आफूले गरिब घर परिवारलाई निःशुल्क विजुली दिने व्यवस्था मिलाएको भन्दै उनले त्यसबाट हाल देशभरका साढे २६ लाख परिवार लाभान्वित भएको जानकारी दिइन् ।
उनले सिंचाइको लागि प्रतियुनिट २ रुपैयाँमै बिजुली दिने व्यवस्था मिलाइएको जानकारी दिइन् । कार्यक्रममा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बस्ती बसेको ठाउँमा विजुली पुर्याउनु राज्यको दायित्व भएको बताए ।
उनले नवलपुर सवस्टेसनको निर्माणबाट सर्लाहीमा विजुलीको गुणस्तरमा उल्लेख्य सुधार भएको दाबी गरे । विद्युत् लाइन विस्तारमा राज्यले सबैभन्दा धेरै लगानी मधेस प्रदेशमा गरेको जानकारी दिँदै घिसिङले अब विद्युत चुहावट नियन्त्रणमा पनि मधेसका नागरिक अग्रसर हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा विद्युत् प्राधिकरण नवलपुर सवस्टेसनका प्रमुख निरन्जन साहले आयोजना निर्माण र त्यसको सञ्चालनमा भएको प्रगतिको विषयमा मन्त्री भुसाल र कार्यकारी निर्देशक घिसिङलाई जानकारी गराएका थिए । त्यसक्रममा मन्त्री भुसाल र कार्यकारी निर्देशक घिसिङले सवस्टेसनको स्थलगत निरीक्षणसमेत गरेका थिए ।
कार्यक्रममा संघीय सांसद प्रमोदकुमार साह र राधेश्याम पासवान, ऊर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्की, सर्लाहीका प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतम, लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्का लगायतको आतिथ्यता रहेको थियो ।
नेपाल सरकार र प्राधिकरणको ५३ करोड लागतमा नवलपुरमा सवस्टेसन निर्माण भएको हो । गएको कात्तिकमै पावरटेक वाइवा जेभीले सवस्टेसनको निर्माण सकेको भए पनि मंगलबार मात्रै त्यसको उद्घाटन गरिएको हो ।