बलरा – सर्लाहीका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुले मंगलबार दक्षिण–पश्चिम भेगमा पर्ने बलरा, धनकौल र रामनगरमा मतदानस्थलहरुको निरीक्षण गरेका छन् ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सुरक्षा अधिकारीहरुले जिल्लाभरकै मतदानस्थलको अवस्था बुझ्दै हिँडिरहेका छन् । त्यसक्रममा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँ, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख चन्दन झा, जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख डीएसपी माधव प्रसाद बुढाथोकीले मंगलबार सुरक्षाको हिसाबले अतिसंवेदनशील मानिने ४ नम्वर क्षेत्रको बलरा नगरपालिका, धनकौल गाउँपालिका र रामनगर गाउँपालिकाका विभिन्न मतदानस्थलहरुको निरीक्षण गरेका हुन् ।
त्यसक्रममा उनीहरुले मंगलबार नै रामनगर गाउँपालिका–५ मा, रामनगर प्रहरी चौकीमा र धनकौल गाउँपालिका २ मुसहर टोलमा गरिव तथा दलितहरुलाई भेला पारेर २९० जना तथा चक्रघट्टा गाउँपालिकामा बेग्लै २३० जनालाई कपडा र जुत्ता वितरण गरेका जिल्ला प्रशासन कार्यालय मलंगवाका कम्प्यूटर अपरेटर मुकेश यादवले जानकारी दिए ।