जुटपानी – गृह मन्त्रालय अन्तर्गत विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाले उपलब्ध गराएको विभिन्नखाले कपडा बिहीबार सर्लाहीको जुटपानी आश्रम र मुसहर बस्तीमा वितरण गरिएको छ ।
लालबन्दी नगरपालिका–२, जुटपानीमा रहेको पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा १७ थान टि–सर्ट, १७ थान हाफ पाइन्ट, ३० जोर चप्पल र १ रोल कपडा प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीका कम्प्यूटर अपरेटर मुकेश यादवले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमसहित सुरक्षा अधिकारीहरुले आश्रमका संरक्षक बासुदेवशरण कोइराला र व्यवस्थापक भवानी कोइरालालाई ती कपडाहरु हस्तान्तरण गरेका हुन् ।
यस्तै, बिहीबार नै लालबन्दी नगरपालिका–४, मुसहर बस्तीमा स्थानीय मुसहरहरुलाई २०० थान टि–सर्ट, २०० थान फूल पाइन्ट र ३० थान टाउजर सर्ट वितरण गरिएको छ । कपडा वितरण गर्न माथिल्लो भेगमा आएका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा अधिकारीहरुले लालबन्दीका विभिन्न मतदान स्थल र पत्थरकोट क्षेत्रमा विवादित बनेको हेटौंडा–ढल्केबर प्रशारण लाइन निर्माण क्षेत्रको समेत निरीक्षण गरेका छन् ।