बागमती – सर्लाहीको बागमती नगरपालिका वडा नं. ४ चेपाङ बस्तीका चेपाङहरुलाई बुधबार कपडा वितरण गरिएको छ ।
गृह मन्त्रालय अन्तर्गतको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाले उपलब्ध गराएको ज्याकेट, भेष्ट लगायतका कपडा बस्तीमै पुगेर चेपाङ समुदायलाई हस्तान्तरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, बागमती नगरपालिकाकी उपमेयर लिलाकुमारी मोक्तान, प्रहरी उपरीक्षक कृष्ण प्रसाई, सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँ, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख चन्दन ठाकुर लगायतले बस्तीमै पुगेर कपडा वितरण गरेका जिल्ला प्रशासन कार्यालय सर्लाहीका कम्प्युटर अपरेटर मुकेश यादवले जानकारी दिए ।
पिछडिएको चेपाङ समुदाय कपडा पाएपछि खुसी भएका छन् । चितवन, धादिङ लगायतका जिल्लाहरुमा मात्रै चेपाङको बसोवास रहने गरेकोमा पछिल्लो समय सर्लाहीको बागमतीमा पनि केही धरधुरी चेपाङहरु आएर बसोवास गर्दै आइरहेका छन् ।