हरिवन – हरिवन नगरपालिकाको विशेष नगर सभा बुधबार सम्पन्न भएको छ ।
विशेष नगर सभामा नगरपालिकाको समग्र विकास निर्माणका सवालहरु र समसामयिक विषयमा छलफल भएको छ । बुधबार भएको विशेष नगर सभाबाट ३ वटा विद्येयक पनि पारित गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानले बताए ।
सभाबाट पारित भएका ऐनहरुमा वन व्यवस्थापन, बजार व्यवस्थापन र उद्योग दर्ता तथा व्यवस्थापन विद्येयक रहेका छन् । निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिन लागेको र आगामी वैशाख ३० गते स्थानिय निर्वाचन हुन लागेकाले भए गरेको कामकारवाहीका बारेमा छलफलका लागि अन्तिम पटक विशेष नगर सभा बोलाईएको नगरपालिकाकी उपप्रमुख रेणुका पौडेलले बताईन् ।
बुधबारको नगर सभाले विभिन्न योजना संशोधन, शिर्षक नमिलेका योजनाहरुको हेरफेर गरी बजेट रकमान्तर तथा नयाँ योजनामा बजेट थप गरेको पनि उनले जानकारी दिईन् । नगरपालिकाको आफ्नै सभा हलमा सम्पन्न भएको विशेष सभामा नगरपालिकाभित्र निर्वाचित जनप्रतिनिधि नगर प्रमुख गणेश प्रसाद प्रसाई, उपप्रमुख रेणुका पौडेल, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तथा सदस्य सचिव सुरेन्द्र प्रधान, निर्वाचित वडाध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी लगायत ६० जनाको उपस्थिती रहेको थियो ।