शुक्रबार बिहान लालबन्दीस्थित पूर्व-पश्चिम राजमार्गमा लागेको हुस्सु ।
लालबन्दी – हिजो (बिहीबार) दिनभर पारिलो घाम लागेर न्यानो महशुस भएको सर्लाहीमा आज (शुक्रबार) भने बिहानैदेखि बाक्लो हुस्सु लागिरहेको छ ।
हुस्सुसँगै शितसमेत झरिरहेका कारण सर्वसाधारणले चिसो महसुस गरेका छन् । अहिले जिल्लाको सबैभेगमा बाक्लो हुस्सु लागेर कठ्यांग्रिदो चिसो रहेको हाम्रा संवाददाताहरुले जनाएका छन् ।
यसैबीच, सर्लाहीको बागमती नगरपालिका–८ सोल्टी बजारमा बिहीबार अतिविपन्न ७० परिवारलाई राहत प्रदान गरिएको छ । कामाख्या परिवार नेपाल सर्लाहीले स्थानीय अतिविपन्न परिवारलाई १ बोरा चामल, एक थान कम्बल र एक प्याकेट बिस्कुट प्रदान गरेको हो ।
संस्थाका केन्द्रीय अध्यक्ष विभाष लाभको अध्यक्षतामा आयोजित राहत वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रहरी उपरीक्षक कृष्ण प्रसाई, सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँ, इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी उमाशंकर प्रसाद यादव लगायतको उपस्थिति थियो । कार्यक्रममा सोल्टी बजार क्षेत्रमा बिना मास्क हिँड्डुल गर्ने झण्डै एक हजार जनालाई मास्क समेत वितरण गरिएको थियो ।
यस्तै, मधेस प्रदेशका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र प्रसाद सिंहले बरहथवा नगरपालिका वडा नं. १३, १४ र १५ का करिव ३०० सय महिलालाई शुक्रबार कम्बल वितरण गरेका मन्त्री सिंहको सचिवालयले जनाएको छ ।