हरिपूर्वा नगरपालिका कार्यालय ।
हरिपूर्वा – सर्लाहीको दक्षिण–पूर्वी भेगमा पर्ने हरिपूर्वा नगरपालिकामा सडक निर्माणका विषयमा विवाद देखिएको छ ।
केही स्थानीयहरुले बलमिच्याँई गरेर आफूहरुलाई अन्यायमा पारी नाला तथा सडक बनाइएको भन्दै आपत्ति जनाएका छन् । हुलाकी राजमार्ग योजना अन्तर्गत योजना कार्यालय जनकपुरबाट अहिले बाँके–संग्रामपुर खण्डमा पर्ने हरिपूर्वा नगरपालिका–१ र २ को सडक निर्माण कार्य चलिरहेको छ ।
ती दुई वडाका ५३ जना स्थानीयले बुधबार हस्ताक्षरसहित आफूहरुको कुरै नसुकी विभेदकारी ढंगले काम भइरहेको भन्दै मेयर शियाराम रायलाई ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराएका छन् । सडक निर्माणका सम्वन्धमा अदालतले दिएको आदेश र प्रशासन तथा नगरपालिकासँग यसअघि भएको निर्णय र सहमती विपरीत काम भएको असन्तुष्ट स्थानीयको गुनासो छ ।
उनीहरुले हचुवाको भरमा एकतर्फी नाला खनिएको, बिजुलीको कनेक्सन छुटाएर मानसिक यातना दिएको, नालाको पानी बन्द गराएर आफूहरुको घरभित्र पानी पसाउन खोजेको जस्ता आरोप लगाएका छन् ।
आफूहरुको समस्याबारे कुनै सुनुवाई नभए यसबाट हुने कुनै पनि परिणामको दोषी नगरपालिकाका मेयर र हुलाकी राजमार्ग योजना कार्यालय हुने समेत बताएका छन् ।