बयलबास – प्रहरीकाे गाेली लागेर घाईते भई उपचाररत सर्लाहीको ईश्वरपुर नगरपालिका–३, भक्तिपुरका संजय महतोलाई आर्थिक सहयोग प्राप्त भएको छ ।
काठमाडाैंमा उपचारकै क्रममा रहेका महतोलाई ईश्वरपुर नगरपालिका-३, भक्तिपुर निवासी नेपाली कांग्रेसका क्षेत्र नम्बर १ का महाधिवेशन प्रतिनिधि समेत रहेका समाजसेवी मनोज कुमार आचार्यले आर्थिक सहयोग गरेका हुन् । साथै आचार्यले हाल ईश्वरपुरको माउन्ट कन्चनजंगा ईङ्लिस बोर्डिङ् स्कुलको कक्षा ९ मा अध्ययनरत महतोलाई स्नातक तहसम्म काठमाडाैंमा राखी अध्यापन गराउने प्रतिबद्दता समेत जनाएका घाईते महतोको परिवारले जनाएको छ ।
गत पुष ११ गते आइतवार राती ईश्वरपुर नगरपालिका-७ स्थित ईश्वरपुर नगरपालिकाको कार्यालय नजिकै प्रहरी भ्यानको ठक्करबाट ईश्वरपुर नगरपालिका-५, सखुवनी खुबलाल टोलका ३० वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो । सो घटनालाई लिएर आक्रोशीत स्थानीयवासीले सोमबार र मङ्गलबार दुई दिन बयलवास बजारमा प्रदर्शन गरेका थिए । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुदाँ इलाका प्रहरी कार्यालय केशरगञ्जमा ढुङ्गामुढा हुनुका साथै प्रहरीको एउटा भ्यानमा आगजनी नै भएको थियो ।
झडपमा ईश्वरपुर नगरपालिका–३, भक्तिपुरका १८ वर्षीय सञ्जय कुमार महतो गोली लागि घाइते भएका थिए । प्रहरीले चलाएको गोली लागेर घाइते सञ्जयको ट्रमा सेन्टर काठमाडाैंमा उपचार चलिरहेको छ ।