लालबन्दी – सर्लाहीको चारवटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसको प्रदेश सभा अधिवेशन चलिरहेको छ ।
क्षेत्र नं. १ को दुईवटै प्रदेश सभा क्षेत्रमा मतदान सक्किसकेको छ । क्षेत्र नं. १ (क) को ईश्वरपुरमा र (ख) को लालबन्दीमा मतदान सकिएको हो । ईश्वरपुरमा उद्योग वाणिज्य संघको सभा हलमा र लालबन्दीमा चरण तथा घाँसे बालीको कार्यालय रन्जितपुरमा मतगणना सुरु गर्ने तयारी भइरहेको छ ।
यसैगरी, क्षेत्र नं. २ (क) को पर्सा र (ख) को सदरमुकाम मलंगवामा मतदान सकिएको छ । (क) को पर्सास्थित पब्लिक मावि र (ख) को मलंगवास्थित पब्लिक माविकै मतगणना सुरु गर्ने तयारी भइरहेको बुझिएको छ । त्यसैगरी, क्षेत्र नं. ३ को (क) मा हरिवनस्थित चारकिलमा केहीबेर अघिदेखि मतदान सुरु भएको छ भने (ख) मा मतदान सुरु गर्ने तयारी हुँदै छ ।
(ख) को बरहथवामा प्रदेश सभा अधिवेशनमा ठाउँको विवाद भएको र अहिले ठाउँको विवाद समाधान गरी पार्टी कार्यालयमै मतदान गराउने तयारी गरिएको हो ।
उता, क्षेत्र नं. ४ मा भने (क) र (ख) दुवै निर्वाचन क्षेत्रमा संस्थापन पक्ष अर्थात् प्रदेश सरकारका मन्त्री वीरेन्द्र सिंहको समूह निर्विरोध निर्वाचित भइसकेको छ । संस्थापन इतर पक्षका नेता तथा सांसद डा. अमरेशकुमार सिंहको पक्ष मनोनयन दर्ता गर्नै नआएपछि ४ नम्वर क्षेत्रमा वीरेन्द्र सिंह पक्ष निर्विरोध निर्वाचित भएको हो । क्षेत्र नं. ४ (क) को धनकौल र (ख) को गोडैतामा प्रदेश सभा अधिवेशन सम्पन्न गरिएको हो ।
क्षेत्र नं. ४ (क) मा अभिनन्दन सहनी र (ख) मा अशोक कुमार सिंह प्रदेश क्षेत्रीय सभापतिमा चयन भएका छन् । बलरा नगरपालिकाको वडा नं. ८ र ९ को वडा अधिवेशन नै नगरी प्रदेश सभा अधिवेशन गरिएको भन्दै सांसद डा. अमरेश कुमार सिंह पक्षले प्रदेश सभा अधिवेशन बहिष्कार गरेको छ ।